‘अस्पतालको लापरवाहीले ज्यान गयो’

पोखरा, १६ बैशाख। मृगौला डायलोसिस गर्दार्गर्दै काभ्रेका ध्वजबहादुर थापामगरले पोखरामा ज्यान गुमाएका छन्।

kidney

पोखरा-८, बगालेटोल स्थिल लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा बिहीबार उपचारका क्रममै थापाको ज्यान गएको हो। नियमित मृगौला डायलोसिस गराउने क्रममा विद्युत अवरुद्ध भएपछि दिउँसो पौने २ बजेतिर उनको ज्यान गएको हो। काभ्रेपलाञ्चोक जिल्ला नाग्रे, गगर्चे-७ घर भएका ५० वर्षीय थापा परिवारका साथमा पोखरा-१७ हिमाली टोल बस्दै आएका थिए। एक वर्षअघिदेखि मृगौला फेल भएका थापाले त्यसयता डायलोसिस गराउँदै आएका थिए। हप्तामा दुर्इ पटक उनको डायलोसिस हुँदै आएको थियो।

मृतकका आफन्तले अस्पतालको गम्भीर लापरवाही भन्दै उपचारमा संलग्नमाथि हदैसम्मको कारवाही माग गरेका छन्। बिहीबार बिहानैदेखि गण्डकी धौलागिरी क्षेत्रमा विद्युत आपूर्र्ति बन्द भएको थियो। अस्पतालमा जेनेरेटर चलाएर उपचार गरिएको र डायलोसिस गर्दागर्दै जेनेरेटर बन्द भएको मृतक थापाकी श्रीमती झुपीमायाले बताइन्।

डायलोसिसका क्रममा श्रीमती पनि साथमै थिइन्। अर्का एक विरामीको पनि डायलोसिस भइरहेको बताउँदै झुपीमायाले आफ्ना श्रीमान्को उपचार ढिलो गरेको गुनासो गरिन्। ‘सबै नर्स अर्कै बिरामीकोमा व्यस्त भए। मेरा श्रीमान् छिटो गर भन्दै कराइरहनुभएको थियो’-उनले भनिन्-’रगत निकालिसक्दा जेनेरेटर बन्द भयो। चलाउन ४५ मिनेट लाग्यो। त्यसबीचमै उहाँको ज्यान गयो। पहिल्यै छिटो गरेको भए केही हुन्थेन।’

उनले बिहान आफै खाना पकाएर चिप्लेढुङ्गादेखि बगालेटोलसम्म हिँड्दै आएको र डायलोसिसअघि पनि अण्डा, चना खाएको बताइन्। बत्ती नभएको आधा घण्टासम्म मेसिनले काम गर्न सक्ने भनेको तर जेनेरेटर चल्न ४५ मिनेट लागेकाले अस्पतालकै बेवास्ता भएको उनको दावी छ। ‘डायलोसिस गर्दा यस्तो हुन्छ भनेर पहिल्यै ख्याल गर्नुपर्ने हो। यसरी अर्काको ज्यानमाथि खेलबाड गर्न त भएन नि’-उनले रुँदै भनिन्-’हामी गाउँका सोझासाझालाई डुबाए हजुर। हाँस्दै, खाँदै आएको मान्छे। मेसिनले काम नगर्दा यत्तिकै ज्यान गयो।’

अस्पताल प्रशासन भने घटना छानबिनको क्रममा रहेको भन्दै केही बोलेको छैन। उपचारमा संलग्न चिकित्सकले भने एक्कासी हृदयघात भएको जनाएको बिरामीका आफन्तले बताएका छन्। अस्पतालका मृगौला तथा पिशाबनली रोग विशेषज्ञ डा. अभिषेक मास्केले थापाको उपचार गर्दै आएका थिए।

अस्पतालले गल्ती स्वीकार गरेर क्षतिपूर्र्ति प्रदान नगरेसम्म शव नबुझ्ने मृतकका आफन्तले जनाएका छन्। होटल मजदूर थापाको ज्यान अस्पतालकै लापबाहीका कारण गएको भन्दै विभिन्न मजदूर संगठनका प्रतिनिधि पनि राति अबेरसम्मै अस्पतालमा थिए। नेपाल समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य सुदर्शन बसौलाले अस्पतालले प्रतिक्रिया नदिएको जानकारी दिँदै घटनाको सबै जिम्मेवारी लिन आग्रह गरे। आगामी दिनमा यस्ता गल्ति नगर्ने प्रतिबद्धतासहित पीडित परिवारको माग बमोजिम क्षतिपूर्र्ति उपलब्ध गराउन उनले माग गरे।

मणिपाल अस्पतालमा डायलोसिस गर्दै आएकोमा फागुनदेखि लेकसिटीमा गर्दै आएको जेठी छोरी यमकुमारी थापाले जनाइन्। त्यसअघि, थापा मुस्ताङचोक स्थित होटल लिगेसीमा कुक थिए। उनका तीन छोरी छन्। थापा श्रीमती र अविवाहित दुर्इ छोरीका साथमा बस्दै आएका थिए।

- अादर्श समाज सम्वाददाता