एकता पहल सुरु भयो : एमाओवादी

काठमाडौं, १६ बैशाख। एकीकृत नेकपा माओवादीले माओवादी पार्टीहरूबीच एकताको विषयमा छलफल सुरु गरेको छ।nepal maoist logo

बिहीबार बिहान बसेको एमाओवादीको स्थायी समिति बैठकमा माओवादी पार्टीएकता कसरी गर्ने भन्नेबारे छलफल भएको नेताहरूले बताएका छन्। अध्यक्ष पुष्पकमल दाहालको निवासमा  बसेको  बैठकमा पार्टीएकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल चलाइरहेको बैठकमा जानकारी गराइएको थियो।

यसैबीच, नेकपा -क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा ‘बादल’ले उत्पीडित वर्गको मुक्तिका लागि माओवादीहरूबीच एकता हुनुपर्ने बताएका छन्।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा महासचिव बादलले नेपालका माओवादी आधा दर्जनभन्दा बढी संख्यामा विभाजित हुनुले उपेक्षित र उत्पीडित समूदायको अधिकार स्थापित हुन नसकेको चर्चा गर्दै नयाँ संविधानले ती अधिकारहरुको ग्यारेण्टी गर्न नसकेको बताए। ‘नयाँ संविधानले महिला, दलित, आदिवासी जनजाति तथा मधेसी समुदायको अधिकार स्थापित गर्न सकेन। त्यसैले माओवादी शक्तिहरूबीच छिट्टै एकता हुनुको विकल्प छैन’-बादलले भने।

- अादर्श समाज सम्वाददाता