बाख्रीको मासु बेच्ने र ल्यापटप चोर्ने पक्राउ

पोखरा, १६ बैशाख। खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने एक मासु व्यापारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा-५, जिरोकिलोमिटर स्थित नन्दु फ्रेस हाउस एण्ड सप्लायर्सबाट प्रहरीले भारतको रक्सौल, पलानवा-१३ घर भएका ३१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरेको हो। सो फ्रेस हाउसका सञ्चालक नन्दलालप्रसाद रौनियार हुन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले रौनियारको फ्रेस हाउसमा छापा मारेको हो।

खानतलासीका क्रममा प्रहरीले लुकाएर राखेको करिब ५० केजी बाख्रीको मासु भेटिएको जनाएको छ। खसीको भन्दै बाख्रीको मासु बेच्दै आएको पुष्टि भएकाले साहलाई पक्राउ गरिएको हो। साहलाई कालोबजारी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसैबीच, ल्यापटप र मोबाइल चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा पोखरा-१०, मिलनटोलका ३६ वर्षीय केशवीर विक छन्।

उनले बैशाख १४ गते राति पोखरा-१४, छिनेडाँडास्थित चेतराज बास्तोलाको घरबाट दिउँसो १ बजेको घरभित्र छिरेर ल्यापटप र मोबाइल चोरेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई मिलनटोलबाटै पक्राउ गरेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। प्रहरीले उनको साथबाट पाँच थान मोबाईल, तीन घडी र एक ल्यापटप बरामद गरेको छ।

- अादर्श समाज सम्वाददाता