‘कोही पनि बर्बाद नहोस्’

पोखरा, १६ बैशाख। इशाराबाटै दुर्इ-चार सयमा यौन प्यास मेटाउन अनुमति दिने नगरवधु हुन् अनुमति मैयाँ। उनलाई यो बाटोमा आइपुग्न न छेक्ने केही थियो, न अनुमति दिने नै। बस, परिस्थितिले भेलमा धकेल्यो, उनी छालसँगै कहिले तल, कहिले माथि गर्दै छिन्।

‘देश बदल्छु भन्दै क्रान्तिको मसाल उठाएका उनका बाको हत्या भयो। शोक गर्दार्गर्दै आमा पागल बनिन्। आजीविका चल्ने बाटाहरू बगर भए। कामको खोजीमा निस्किएकी उनलाई ‘आतंककारी’की छोरी भन्दै तिरस्कार गरियो। त्यतिमात्र होइन, उनको नवयौवन हुण्डरीले चुडाइदियो। यौन पिपासुहरूले उनलाई वलात्कार गरे, वेहोस भएपछि नदी किनारमा फलिदिए। नदी एकनास सुसाइरÞयो। उनी केही समय वगरमा बगरकै ढुंगाजसरी चुपचाप रहिन्।

ब्युझिएपछि पनि अनुमतिविना उनलाई जर्वजस्ती पटक-पटक लुटियो। कालान्तरमा समयले उनलाई अनुमति मैयाँ बनाइदियो। अनुमति मैयाँजस्तै पीडित, सीमान्तकृत युवाहरूको कथा समेटिएको नाटक  हो ‘पुलिस र प्यास’।

नाटकमा अनुमति मैयाँको चरित्र निकै सजीव रुपमा निर्वाह गरेकी छन् सबु पाठकले। पोखराको एउटा रेडियोमा कार्यरत तन्नेरी सबु आफ्नो भविष्य अभियनमा नै देख्छिन्। स्कूलका कार्यक्रम भाग लिने उनको नाटकका अरु कलाकार जस्तै रंगमञ्चमा यो पहिलो सहभागिता हो। उनले भनिन्-’नाटक रमाइलो लागेको छ। केही गर्न सक्छु भन्ने आत्मविश्वाससमेत जागेको छ।’

कुनै समय पोखरामा ‘किस्मतको फैसला’ नाटक १८ दिनसम्म चलेको थियो। पोखराका उर्जावान् केही तन्नेरी सम्मिलित पञ्चामृत नाटय समूहले पुलिस र प्यास बैशाख १७ र १८ गते पोखरा उद्योग वाणिज्य संघमा प्रदर्शन गर्दै छ। २०७० मा स्थापना भएको समूहले ६० बढी रेडियो नाटक गरिसकेको छ। रंगमञ्चमा भने पञ्चामृतको यो पहिलो परीक्षा हो।

यो नाटक निर्देशनसमेत गरेका नाटककार कृष्ण उदासी आफ्नो जीवन कालको एक सय तीनौं नाटकमा काम गरिरहेका छन्। पुलिस र प्यासले समाजमा गलत बाटोमा रहेका नौजवानलाई सुधारेर सम्बृद्धिको मूल प्रवाहमा सामेल गराउनुपर्ने सन्देश दिएको छ। उदासी भन्छन्-’यो समाजवादी नाटक हो। नाटकले सबैको भविष्य बनोस्, कोही पनि बर्बाद नहोस् भन्ने सन्देश दिन्छ।’

अरस्तुले भनेका छन्, ‘जीवनको अनुकरण नै नाटक हो।’ उदासीले नाटकमा नेपाली समाजको पूँजीवादी चरित्र र सजायबाटै विकृति निमिटयान्न पार्ने गलत मानसिकतालाई प्रभावकारी रुपमा चित्रण गरेका छन्। नाटकमा चोर, जड्याहा, वेश्या, जुवाडे र पागलले आफ्नो अधिकार माग्छन्।

अधिकांश मान्छे रहरले गलत बाटोमा लाग्दैनन्। विभिन्न विवशताले गलत भासमा फसेपछि निस्किने बाटो हत्तपत्त भेटिँदैन। समाज उनीहरूलाई भासबाट निकाल्ने र भावी पुस्ता त्यो भासमा नपरुन् भनेर संरचना बदल्दैन, बरु सजाय दिएरै, उपेक्षा गरेरै समाधान खोज्छ। सही भासवरिपरि नाटकका पात्रहरूको जीवन घुमेको छ।

नाटकमा आशिष अधिकारीले जड्याहाको भूमिका निर्वाह गरेका छन्। ‘नथुराम’ बनेका उनलाई वैदेशिक रोजगारीमा जापान जान लाग्दा दलालले ठगेेको छ। यस्तै, बलात्कारको शिकार भएकी महिलाले जन्माएको एक सन्तान चोर बनेको छ। यो भूमिका विवश बाबुले निर्वाह गरेका छन्।

पुलिस र प्यासमा दिलप्रसाद गुरुङ उर्फ दुक्कीलाल जुवाबाटै बेघरवार हुँदा पनि उनको जुवाप्रतिको प्यास मेटिएको छैन। नाटकमा एउटी जवान युवति पागल भएकी छन्। उनका बाले सम्पत्तिका लागि आमाको हत्या गरेका छन्। ‘आस्था’को विपद् त्यतिकैमा सकिँदैन, सौतानी आमाले उनलाई वेश्यालयमा बेचिदिन्छिन्। मानवीय संवेदनहीनताको पराकाष्ठा दसााने यो भूमिका शितला अधिकारीले निर्वाह गरेकी छन्।

नाटकमा दुर्इ प्रहरी छन् : एक इनिस्पेक्टर कालुराम, अर्की होचो कदकी हवल्दार फूलमति। गाउँको डन कालुरामलाई सुधार्न गाउँलेले प्रहरीमा भर्ना गरिदिएका हुन् भने फूलमतिलाई प्रहरीका एक वरिष्ठ अधिकारीको कृपाले जागिर मिलेको हो। परिर्वतनले कालुरामको भूमिका निर्वाह गरेका छन्।

यी कलाकारसँगै कथावस्तु कसरी अगाडि बढेको छ भन्ने थाहा पाउन नाटक हेर्नैपर्छ। उदासी आफ्ना नाटकमा विभिन्न प्रयोग गर्छन्। प्रकाशको सार्थक र मर्मस्पर्शी प्रयोग गर्ने उदासीको मुखपात्रका रुपमा यो नाटकमा सृष्टिको भूमिका छ। यो भूमिका नाटकको सहनिर्देशकसमेत रहेकी मनिषा गौतमले निर्वाह गरेकी छन्। अधिकांश मानिस दुर्इ प्रकारको जीवन बाच्छन् : एउटा देखाउने, अर्को व्यवहारिक। पूर्र्वीय मान्यता भन्छ : काव्यषु नाटकं रम्यम्-काव्यमा नाटक नै सर्वश्रेष्ठ छ।)। पश्चिमी दार्शनिकहरू पनि यो मान्यतासँग असहमत छैनन्। नाटक प्राचीन र सम्बृद्ध विधा हो। पाठय, दृश्य, श्रव्य र अभिनयका माध्यमले लक्षित समूहसम्म पुग्ने नाटक निकै प्रभावशाली र लोकप्रिया विधा हो। कुनै वेला पोखरामा टोलैपिच्छै नाटय समूह थिए। अहिले पोखरेली नाटय प्रतिष्ठान र युथ क्रियशन थियटर र पञ्चामृत नाटकमा क्रियाशील छन्। नाटकलाई सबैभन्दा प्रभावशाली विधा भनिए पनि यसको उत्थानका खासै काम भएको छैन।

दुर्इ महिनाको रिर्हर्सलपछि नाटक शुक्रबार र शनिबार देखाइँदै छ। कार्यक्रमका संयोजक परिवर्तन नाटकलाई व्यवसायिक रुपमा लैजाने प्रयत्नमा आफूहरू रहेको बताउँछन्। कलाकारलाई केही पारिश्रमिक दिइने जानकारी दिँदै उनी भन्छन्-’हामी घाटामा हुँदैनौँ, सबैलाई नाटक हेरेर प्रतिक्रिया दिन आग्रह गर्छु’

- फडिन्द्र अकिञ्चन