देउवा र पौडेलको उम्मेद्वारी

पोखरा, २३ चैत। नेपाली काङ्ग्रेस व्यवस्थापिका-संसद् संसदीय दलको नेतामा पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

यही चैत २४ गते हुने संसदीय दलको नेताको निर्वाचनका लागि निर्धारित तालिकानुसार मङ्गलबार देउवा र पौडेलले आफ्ना पक्षका संसद्को दलबलका साथ उपस्थित भई उम्मेदवारी दर्ता गरेका हुन्। देउवाको समर्थकमा पदमनारायण चौधरी र प्रस्तावकमा फरमुल्ला मन्सुर तथा पौडेलको समर्थकमा प्रकाशमान सिंह र प्रस्तावकमा डा शशांक कोइराला छन्।

उम्मेदवारी दर्तापछि देउवाले मधेसको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्न र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताए। ‘व्यवस्थापिका-संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा मुलुकका सबै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन मेरो उम्मेदवारी हो’-उनले भने।

त्यस्तै, नेता पौडेलले संसदीय दलको निर्वाचन पार्टीको लोकतान्त्रिक अभ्यास भएको बताए। ‘काङ्ग्रेसमा देखिएका समस्या समाधान गर्न र पार्टीलाई जिम्मेवारी बाँडफाँटका साथ एकताबद्ध बनाउन मेरो उम्मेदवारी हो’-उनले भने। संविधान कार्यान्वन्यनका लागि सबैको अपनत्व ग्रहण गराउन आफूले पहल गर्ने बताउँदै उनले त्यसको नेतृत्व काङ्ग्रेसले नै गर्नुपर्ने जिकिर गरे।

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रिक्त काङ्ग्रेस संसदीय दलको नेताको निर्वाचन हुन लागेेको हो। काङ्ग्रेसमा २०७ सांसद छन्। काङ्ग्रेसमा संसदीय दलको नेतालाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिने भएकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ।

दलको निर्वाचन गर्न काङ्ग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिले मङ्गलबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको थियो। मतदान बुधबार बिहान ११ देखि दिउँसो २ बजेसम्म हुने समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिए।

निर्वाचन विद्युतीय मतदानबाट हुने भएको छ। त्यसका लागि निर्वाचन आयोगका अधिकारीले सांसदलाई विद्युतीय मतदान यन्त्रकाबारे जानकारी गराएका छन्। विद्युतीय यन्त्रमा उम्मेदवारको नामावली नेपाली वर्ण्ाानुक्रमानुसार रहनेछ।

संसदीय दलको नेताको निर्वाचनपछि चैत २६ गते संसदीय कार्यसमितिको निर्वाचन गर्ने तालिका छ। कार्यसमितिमा प्रत्येक प्रदेशबाट एक-एक जनाका दरले सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम १५ जनाको निर्वाचन हुने दलको प्रावधान छ।

कार्यसमितिको निर्वाचनका लागि समितिले उम्मेदवारी दर्ताका लागि चैत २५ गते बिहान ११ देखि अपराहृन १ बजेसम्म समय निर्धारण गरेको छ। समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराहृन ५:३० बजे प्रकाशन गरिनेछ।

- अादर्श समाज सम्वाददाता