मधेस आन्दोलन प्रायोजित : एमाले

काठमाडौँ, २३ चैत। प्रमुख सत्तारूढ दल नेकपा (एमाले)ले मधेसी दलले चलाएको आन्दोलनलाई ‘प्रायोजित’ को संज्ञा दिएको छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबारबाट पार्टीकेन्द्रीय कार्यालय, धुम्बाराहीमा सुरू भएको पोलिटब्युरो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मधेस केन्द्रित दलको आन्दोलन मुलुकको राजनीतिको वास्तविक नभई ‘नक्कली समस्या’ भएको टिप्पणी पनि गरेका छन्।

मधेशीहरू सङ्घीयताको सीमाङ्कनलगायतका विषयमा असन्तुष्ट भई आन्दोलनमा छन्। संविधान बन्नुअघि नै नेपालले अघोषित नाकाबन्दी भोग्नुपरेको र राष्ट्रिय स्वाधीनताको जगमा वर्तमान सरकार बनेको र राष्ट्रियताको भावनालाई कति पनि विचलित हुन नदिनु सरकारको सफलता भएको १२ पुष्ठे प्रतिवेदनमा उल्लेख छ।

ओलीले वर्तमान सरकारले न दक्षिणतिर शिर झुकाएको न उत्तरतिर लम्पसार परेको भन्दै जनता राष्ट्र र लोकतन्त्रको रक्षा गर्दै राष्ट्रिय स्वाभिमानको गौरवलाई उँचो बनाइएको दावी गरेका छन्।

- अादर्श समाज सम्वाददाता