‘अपनत्व नहुँदा सामुदायिक विद्यालय कमजोर’

पोखरा, २३ चैत। कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सबै गम्भीर हुनुपर्ने बताएका छन्।

शर्माले शिक्षण सिकाइलाई प्रविधिसँग जोड्दै शिक्षक, अभिभावक र स्थानीय समुदायको अपनत्व नभइ सामुदायिक विद्यालयको गुणस्तर बृद्धि हुन नसक्ने बताए। शिक्षक, अभिभावकसँगै स्थानीय समुदाय अग्रसर भएमात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन सक्ने उनको भनाइ थियो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा कालिका गाविसमा आयोजित शिक्षाको अधिकारसम्बन्धी सम्वाद कार्यक्रममा उनले समाजमा सामुदायिक विद्यालयलाई अपहेलना गरिने र शिक्षकले शिक्षण सिकाइमा नयाँपन दिन नसकेको बताए।

‘शिक्षा कार्यालय अनुगमनको लागि सधैँ आउन सक्दैन’-शर्माले भने-’समुदायले नजिकबाट रेखदेख गर्न व्यवस्थापन समिति गठन भएको हो।’ उनले शिक्षकले मेहनत गर्ने र खट्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर भने राम्रो भएको उल्लेख गरे।

एभिन्युज टेलिभिजन पोखरा ब्युरोको सहकार्यमा भएको कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, कार्यक्रम संयोजक सवनम शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामकृष्ण ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक रामकृष्ण अधिकारी, अभिभावक पुष्पराज त्रिपाठी, मानव अधिकार निगरानी समूहका जिल्ला अध्यक्ष पदमराज पहारी, जनज्योति उच्च माविका प्रधानाध्यापक माधव पौडेल, विद्यार्थी सविना पौडेललगायतले सामुदायिक विद्यालयको शैक्षिक अवस्था चिन्ता विषय भएकाले सुधारका योजना कडाइका साथ ल्याउनुपर्ने बताएका थिए।

- अादर्श समाज सम्वाददाता