यसरी लुटिएका थिए जुग्जाली

म्याग्दी, २२ चैत। बेनीबजारमा चैत १ गते बेनीबजारको एक होटलमा नशालु पदार्थ सेवन गराइ भएको लुटपाट देशैभर चर्चित भयो। सो लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

बेनीबजार हाडेभिरमा कृषि औजार आरन सञ्चालक कुलदीप जुग्जालीको सुन, पैसा र साथमा रहेको मोवाइलसमेत चोरी गर्ने दाङको घोराही नगरपालिका-१० घर भइ हाल पोखरा उपमहानगरपालिका-४ बस्ने देविका पुन, मनकामना-४, स्याङजाका जुद्धबीर कामी र लेखनाथ नगरपालिका-१८, कास्कीका पदम विकलाई पक्राउ गरी आईतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको छ।

जुद्धवीर र पदमको योजनामा १७ वर्षीया देविकाले क्याम्पसचोकस्थित पुन होटल एण्ड नान हाउसमा जुग्जालीलाई पेयपदार्थमा नसालु पदार्थ मिसावट गरी खुवाउने र लुटपाट गर्ने दुर्इ जनाको योजनामा देविकालाई प्रयोग गरिएको देखिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। प्रहरीले देविकालाई चैत १५ गते पोखरामा  उपचार गराउँदै गर्दा पक्राउ गरेपछि उनकै बयानको आधारमा अरु दुर्इ जनालाई पक्राउ गरेको जनाएको छ। साढे नौ तोला सुनमध्ये सात तोला तीन जनाले बिक्री गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पदमबहादुरबाट एक थान सुनको सिक्री, एक मोवाइल, देविकाको साथबाट एक सुनको औंठी, आठ सय रुपैयाँ र जुद्धवीरका दुर्इ औठी, एक सिक्री र एक पत्थर मिसिएको औठी र एक मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीनै जनालाई चोरीअन्तगत मुद्दा चलाइने जनाइएको छ।

- निर्मल खत्री