आलु महोत्सव आजदेखि

पोखरा, २२ चैत। आलु गाँउका रुपमा परिचित हेमजामा आजदेखि सातौं हेमजा आलु महोत्सव सुरू हुँदै छ।

महोत्सव उद्घाटनअघि हमेजाको मिलनचोकबाट बिहान ९ बजे विभिन्न झाँकीसहितको र्‍याली निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए। महोत्सवमा आलुको मूल्य ३२ रुपैयाँ कायम गरिएको छ। महोत्सवमा प्लाष्टिक झोला तथा गिलास पूर्ण रुपमा निषेधित गरिएको छ।

महोत्सवमा आलुका परिकार बनाउनसमेत सिकाइने आयोजकले जनाएको छ। ‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव  ३० गतेसम्म हेमजाको विष्णुपादुका खेलमैदानमा हुनेछ।

विविध कृषि उत्पादनको प्रवर्द्धन तथा कृषि पर्यटनको प्रचार-प्रसारका गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा १२ आलुका परिकारका स्टल, ५० व्यवसायी स्टल, ३० कृषि प्रविधि प्रदर्शनी, एक प्राथमिक उपचार केन्द्र र एक सूचना केन्द्र गरी ९४ स्टल रहने स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए।

महोत्सव सम्पन्न गर्न २३ लाख २६ हजार खर्च लाग्ने अनुमान गरिएको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए।

महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठूलो पहाड निर्माण, आलुको विभिन्न परिकार, ताजा तरकारी प्रदर्शन, बाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साँङ्गीतिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारको प्रस्तुति, जापानीज सुन्तला प्रदर्शनी, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि बिऊबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, महिलाको कृषिगीत प्रतियोगिता सञ्चालन गरिने प्रचारप्रसार उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता