औधोगिक क्षेत्र उद्योग संघको अध्यक्षमा न्यौपाने

पोखरा, २१ चैत। पोखरा औधोगिक क्षेत्र उद्योग संघको अध्यक्षमा विनोद शर्मा न्यौपाने चयन भएका छन्।

संघको १४ औं वाषिर्क साधारणसभा तथा सातौं अधिवशेनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा बलभद्र नकर्मी, द्वितीय उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ, महासचिवमा रुद्रलाल श्रेष्ठ, सचिवमा दीपेन्द्र बस्ताकोटी र कोषाध्यक्षमा झलकनाथ आचार्य छन्।

यसैगरी, सदस्यहरूमा विश्वबन्धु थापा, श्रीराम पाण्डे, शक्ति पाण्डे, सुरेन्द्रबहादुर गोदार, फणीन्द्रराज शर्मा, सुरेश ध्वजु र देवीप्रसाद अर्याल छन्।

साधारणसभाको उद्घाटन गर्दै संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले लोडसेडिङका कारण उद्योगहरूले ठूलो नोक्सानी व्यहोर्र्नु परेको भन्दै अब दुर्इ वर्षमा लोडसेडिङ अन्त्य हुने दावी गरे। उनले अब मुलुकलाई विकासको गतिमा अगाडि बढाउँदै आर्थिक समृद्धिका लागि जोड दिनुपर्ने उल्लेख गरे।

अधिकारीले दुबै छिमेकी देशले नेपालमा रेल सञ्चालन गर्न चाहेको बताउँदै दुबै देशसँग समदूरीको सम्वध राख्नुपर्नेमा जोड दिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले नाकाबन्दीमा पनि दुःख झेलेर उद्योग सञ्चालन गरी उद्योगीलेे राज्यलाई ठूलो गुन लगाएको बताए।

नेपाल औधोगिक क्षेत्र व्यवस्थापन समितिका महाप्रबन्धक नन्दकिशोर बस्नेतले लेखनाथको पटनेरीमा औधोगिक क्षेत्र निर्माणको लागि ४५ लाख बजेट विनियोजना भइसकेको जानकारी दिँदै स्थानीयले औधोगिक क्षेत्र निर्माणमा सहयोग गर्नुपर्ने बताए।

नेपाल उद्योग महासंघका अध्यक्ष तिलप्रसाद भट्टराईले तीन सिफ्टमा सञ्चालन हुनुपर्ने उद्योग विद्युत् अभावका कारण एक सिफ्टमात्रै सञ्चालन गर्नु परेको गुनासो गरे।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, बालाजु उद्योग संघका अध्यक्ष देवलाल तामाङ र लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले बोलेका थिए।

संघका अध्यक्ष चन्द्रबहादुर राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुरेशबहादुर श्रेष्ठले गरेका थिए।

- अादर्श समाज सम्वाददाता