लेखनाथलाई प्लाष्टिक मुक्त बनाउन छलफल

लेखनाथ, २१ चैत। लेखनाथलाई प्लाष्टिक मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ आइतबार लेखनाथमा प्रारम्भिक छलफल भएको छ।

विकल्प खोजी गर्दै दिगो वातावरण संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमका सहभागीले वर्तमान युग प्लाष्टिकको युग भएको तर यसका नकारात्मक पक्ष धेरै भएकाले विकल्प खोजी गरिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले लेखनाथलाई प्लाष्टिक झोला मुक्त बनाउन पहल गर्नुपर्ने बताएका थिए।

लेखनाथका नगर स्तरीय राजनीतिक पार्टीा प्रतिनिधि, सामाजिक संघ, संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको कार्यक्रममा लेखनाथ नगरपालिकामा ल्यान्डफिल साइट आवश्यक रहेको र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिइएको थियो।

कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले सरोकारवाला र स्थानीय सरकारको संयुक्त प्रयासबाट मात्र नगरलाइ प्लाष्टिक झोला मुक्त बनाउन सकिने धारणा राखे। उनले नगरबासीलाई घर-घरबाट अभियान सुरु गर्न अनुरोध गरे।

लेखनाथ नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरेले लेखनाथबासी सचेत भई प्लाष्टिक झोलाको विकल्पमा कपडा र अन्य चिजबाट बनेका झोलाको खोजी गरी यस अभियानलाई मूत रुप दिन र कार्यालयले पनि आगामी दिनमा यससम्बन्धी काम गर्ने बताए।

लेखनाथ नगरपालिकाको सहयोगमा लेखनाथ उद्योग वाणिज्य संघद्वारा तयार पारिएको ‘लेखनाथको रहर, प्लाष्टिक मुक्त सहर’ नारा लेखिएका कपडाका झोला पहिलो चरणमा दुर्इ हजार पाँच सय तयार पारी एक हजार दुर्इ सय ५० निःशुल्क वितरण गर्ने र बाँकी प्रति झोला ५० रुपैयाँमा गरी वातावरण मैत्री कार्यक्रममा खर्च गर्ने योजना बनाइएको छ। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव छत्रधर आत्रेय र धन्यवाद ज्ञापन द्वितीय उपाध्यक्ष बलराम ढकालले गरेका थिए।

- अादर्श समाज सम्वाददाता