आयोजकलाई फुटबल उपाधि

पोखरा, २० चैत। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा-१, बगरले गरेको दोस्रो अन्तर सामुदायिक सेभेन ए साइड मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधि आयोजक बगरले जितेको छ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथलाई ट्राइब्रेकरमा ६-५ ले हराउँदै बगरले जित हात पारेको हो। आयोजक बगरले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने लेखनाथलेे १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

निर्धारित समयमसम्म दुबै तर्फबाट एक-एक गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। प्रतियोगितामा अनुशासित टीम पृथ्वीचोक, र्सार्वधिक गोल गर्ने बगरका शिवराज अधिकारी र उत्कृष्ट खेलाडी लेखनाथका कृष्ण गुरुङ घोषित भए।

कार्यक्रममा संस्थाको क्रियाशील सदस्यबाट दुर्गा केसी थापा र सामुदायिक प्रहरी सेवा केन्द्र एवमु सामुदायिक प्रहरी सेवा बगरका इन्चार्ज गीता सुवेदी र हवल्दार तुलबहादुर नेपालीलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने विभिन्न संघ, संस्था तथा व्यक्तिलाई सहयोग गरिएको थियो।

यसअघि, प्रतियोगिताको समिफाइनलमा सामदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बगरले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामलाई ३-१ ले पराजित गरको थियो। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाबीच भएको सेमिफाइनल खेल बराबरी भएको थियो। पछि ट्राइब्रेकरमा लेखनाथले कालिकालाई २-१ ले पराजित गर्‍यो।

कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र पोख्रेलले सामुदाय र प्रहरीबीचको सम्बन्धलाई सुमधुर गर्न संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समितिका द्वितीय उपाध्यक्ष सोमनाथ बास्तोला, अखिल नेपाल फुटबल संघ केन्द्रीय सदस्य फत्तबहादुर गुरुङ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठले बोलेका थिए।

पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्दै युवालाई प्रोत्साहन, सामुदायिक क्रियाकलाप सञ्चालन गर्न उत्प्रेरण जागाउने उद्देश्यले संस्थाको १३ औं वाषिर्कोत्सवको अवसर पारेर दोस्रो सेभन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोतिामा छ टिमको सहभागिता थियो। सामुदायिक सेवा केन्द्र बगर एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ बगरका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खेल उपसमिति संयोजक शिवराज अधिकारीले स्वागत र सहसचिव रामभुषण पराजुलीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता