लियोद्वारा वृद्धाश्रमलाई सहयोग

पोखरा, २० चैत। लियो क्लब अफ पोखराले पोखरा-१८, बाच्छीबुडुवास्थित वात्स्यायन वृद्धाश्रममा सहयोग गरेको छ।

संस्थाले शनिबार वृद्धाश्रममा नै पुगेर १५ थान कुर्चीका साथै फलफूल र बिस्कुट वितरण गरेको हो।

यस्तै, वृद्धाश्रममा आश्रति ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक सामाग्रीसमेत प्रदान गरिएको लियो क्लब अफ पोखराका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए। संस्थाका सरोज केसी, सुरज बाटाजु र सपन विजुक्छेले प्राथमिक स्वास्थ्य उपचार सामाग्री प्रदान गर्न सहयोग गरेका थिए। यस्तै, जन्मदिनको अवसरमा पूर्व अध्यक्ष विक्रान्त ताम्राकारले एक हजार एकसय २५ रुपैयाँ वृद्धाश्रमलाई प्रदान गरे।

अध्यक्ष श्रेष्ठले युवामा सामाजिक भावना जाग्नुपर्नेमा जोड दिँदै सबैले थोरै सहयोग गरेप नि वृद्धाश्रम सञ्चालनका लागि सहज हुने बताए।

वृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीले ज्येष्ठ नागरिकका लागि आवश्यक सामाग्री उपलब्ध गराएकोमा संस्थाप्रति आभार व्यक्त गरे। यो अवसरमा लायन्स क्लब पोखराका पूर्व अध्यक्ष एवम् संस्थाका सल्लाहकार शिव श्रेष्ठ, पूर्व अध्यक्ष श्यामकाजी श्रेष्ठ, पूर्व अध्यक्ष विक्रान्त ताम्राकारलगायतले बोलेका थिए। कार्यक्रमको संयोजन गरेका सुरज सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए।

लियो क्लब अफ पोखराले स्वास्थ्य, शिक्षा, वातावरण र नेतृत्व विकासका क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए।

- अादर्श समाज सम्वाददाता