बुढानीलकण्ठ मन्दिर संरक्षण समितिको साधारणसभा

पोखरा, २० चैत। पोखरा-४, गणेशटोलमा रहेको बुढानीलकण्ठ मन्दिर संरक्षण समितिको अध्यक्षमा पुनः श्यामबहादुर कोइराला निर्वाचित भएका छन्।

समितिको शनिबार भएको चौथो अधिवेशन तथा नवौं साधारणसभाले कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा शान्ति कोइराला, सचिवमा उपेन्द्रराज गौतम, सहसचिवमा शारदाप्रसाद कोइराला र कोषाध्यक्षमा उदारराज राजभण्डारी छन्।

त्यसैगरी, सदस्यहरूमा लक्ष्मी कोइराला, रामबहादुर कोइराला, भोलाप्रसाद पराजुली, फणीन्द्र अधिकारी, सुमित्रा अधिकारी र गीता पौडेल रिमाल चयन भए।

धर्मराज पराजुली संयोजक तथा शंकरबहादुर कोइराला र शिवजी कोइराला सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत कार्यसमिति चयन गरेको हो।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै गणेश गुठी सेवा समितिका अध्यक्ष वीरेन्द्रकुमार बाटाजुले बुढानीलकण्ठ मन्दिर पोखरा-४ मा रहे पनि यस क्षेत्रकै महत्वपूर्ण स्थल भएको बताए।

राष्ट्रिय सहकारी संघका केन्द्रीय सञ्चालक प्रभा कोइरालाले मन्दिरको जगेर्ना र पूर्वाधार विकासमा वडाबासी तात्नुपर्ने बताइन्।

कार्यक्रममा वडा नागरिक मञ्च पोखरा-४ का अध्यक्ष अनन्त लम्साल, बुढानीलकण्ठ टोल विकास संस्थाका अध्यक्ष शिवजी कोइराला, सल्लाहकार शशिधर पराजुली, किरियापुत्री भवन निर्माण उपसमिति संयोजक राजेन्द्रनिधि कोइराला, सिर्जनशील महिला समूहका अध्यक्ष लक्ष्मी कोइरालालगायतले बोलेका थिए।

समितिका अध्यक्ष श्यामबहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजुबहादुर कोइरालाले वाषिर्क प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष उदारराज राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

गत बैशाख १९ देखि २६ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरी ७५ लाख ६१ हजार छ सय ८२ बचत गरेकोमा यसमध्ये आधुनिक सुविधा सम्पन्न क्रियाकर्म भवन निर्माणका लागि ४० लाख र बहुउद्देश्यीय भवनका लागि बाँकी रकम छुट्याइएको कोषाध्यक्ष राजभण्डारीले जानकारी दिए। सो अवसरमा समितिलाई दुर्इ लाख आर्थिक तथा भौतिक सहयोग गरी योगदान पुर्‍याएकोमा सिर्जनशील महिला समूहलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता