अन्नपूर्णमा एक सय ९२ द्वारा रक्तदान

पोखरा, २० चैत। रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको रक्तदानमा एक सय ९२ युनिट रगत सङ्कलन भएको छ।

‘रक्तदान म पनि गर्छु भन्ने नाराका साथ भएको कार्यक्रमको रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिका क्षेत्रीय संयोजक गोविन्दराज पहारीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे। युवा पुस्तालाई रक्तदानप्रति आकषिर्त गर्न र नयाँ रक्तदाता खोजी अभियानमा सघाउन रेडियोले प्रत्येक वर्ष गर्दै आएको रक्तदानमा यस वर्ष पनि नयाँ रक्तदाताको उत्साहजनक सहभागिता रहेको थियो।

१५ औं संस्करणको रक्तदानमा ४० प्रतिशत नयाँ रक्तदाताले रगत दान गरेको संयोजक आरजु विष्ट ‘सल्यानी’ले जानकारी दिए।

सो अवसरमा ६८ जना नयाँ रक्तदाता, ३७ महिला र एक सय ५५ जना पुरुषले रक्तदान गरेका छन्। प्रतिकुल मौसमले कार्यक्रमलाई प्रभावित बनाएको रेडियोले जनाएको छ। नयाँ पुस्तामा रक्तदान गर्नुपर्दछ भन्ने भावना विकासित गर्न रेडियोले वर्षेनि रक्तदान गर्दै आएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए। उक्त अवसरमा साइकल सिटी पोखराका जितेन्द्रमान शाक्यले सबैभन्दा बढी ५२ औं पटक रक्तदान गरे। रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले स्थापाना कालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, सरसफाइ, आर्थिक सहयोगलगायतका सामाजिक काम गरिरहेको बताइन्।

- एजेन्सी