सहकारीमा समृद्ध कास्की

कास्कीका सहकारीमा आवद्ध हुनेको संख्या दुर्इ लाख बढी छ। हालसम्म जिल्लाभर दुर्इ लाख तीन हजारभन्दा बढी नागरिकले सहकारीको सदस्यता लिइसकेका छन्। पछिल्लो समय पुरूषभन्दा महिलाहरू सहकारीमा आबद्ध हुने क्रम बढ्दो छ।

सहकारीमा आबद्ध सदस्यमध्ये महिलाको संख्या एक लाख दुर्इ हजार छ भने पुरूषको संख्या एक लाख एक हजार छ। कास्कीमा हाल छ सय १५ सहकारीहरू सञ्चालनमा छन्। आर्थिक कारोबार ३० अर्ब ८६ करोड नाघिसकेको छ। यी सहकारीहरूमा चार अर्ब ७५ करोड निक्षेप र १३ अर्ब ३९ करोड बचत भएको छ भने १३ अर्ब ४४ करोड ऋण लगानी छ। कास्कीमा सञ्चालित सहकारीमध्ये सबैभन्दा धेरै बचत तथा ऋण सहकारी तीन सय ३८ छन् भने बाँकी कृषि, उपभोक्ता तथा अन्य सहकारीहरू छन्।

कृषि तथा फलफूल सहकारी एक सय ४९ र बहुउद्देश्यीय सहकारीहरू २३ छन्। यस्तै, ३० उपभोक्ता सहकारी, २२ दुग्ध सहकारी, १४ कफी सहकारी, तीन मत्स्यपालन, एक स्वास्थ्य, पाँच सञ्चार, दुर्इ जडिबुटी, चार पशुपालन, तीन मौरीपालन, एक चिया, दुर्इ पर्यटन र अन्य १३ सहकारीहरू सञ्चालित छन्। यो बाहेक छ सहकारी संघहरू पनि कास्कीमा छन्। जिल्लामा एक वर्षभित्र मात्रै १६ सहकारी थप भएका छन्। सञ्चालित सहकारीले कृषि, व्यापार, व्यवसायलगायतका क्षेत्रमा लगानी बढाएका छन्।

जिल्लाका करिब ७० प्रतिशत सहकारी सहरी र ३० प्रतिशत मात्रै ग्रामिण क्षेत्रका सहकारी डिभिजन कार्यालयका अधिकृत बालाकृष्ण अधिकारीले जानकारी दिए। सरकारले एक वर्ष अघिदेखि सहरी क्षेत्रमा सहकारी संस्था दर्ता प्रक्रिया रोकेको छ। कास्कीको पनि सहरी क्षेत्रमा एक वर्षदेखि नै दर्ता प्रक्रिया रोकिएको उनले बताए। सहरी क्षेत्रमा रोकिए पनि ग्रामिण क्षेत्रमा भने अझै दर्ता रोकिएको छैन। सहरी क्षेत्रमा पनि कृषि सहकारीको नाममा भने संस्थाहरू दर्ता भइहेका छन्।

कार्यालयका अनुसार सहकारी संस्थाहरूले सबैभन्दा धेरै व्यापारको क्षेत्रमा लगानी गरेका छन्। त्यसपछि घरजग्गा र कृषि क्षेत्रमा लगानी बढी छ। यस्तै, पछिल्लो समयमा केही सहकारीले जलबिद्युतका क्षेत्रमा पनि लगानी गर्न थालेका पोखरा रोयल सहकारीका प्रबन्ध निर्दैशक भीम गुरूङले जानकारी दिए। रोयलसँगै सञ्चय बहुउद्देश्यीय सहकारी, सिद्धिविनायक सहकारी लगाएयका सहकारीले जलविद्युतको क्षेत्रमा लगानी गरेका छन्। कास्कीका सहकारीहरूले एक करोड रूपैयाँ बढी रकम जलविद्युतको क्षेत्रमा लगानी गरेका गुरूङले बताए। कास्कीमा सञ्चालित सहकारीहरूमा एक हजार सात सय जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रवीरमण तिवारीले जानकारी दिए।

मुलुकभरका सबै जिल्लामा सहकारी सञ्जाल कार्यरत छ। सहकारी आन्दोलनलाई पछिल्लो समयमा विकासको मेरूदण्डका रूपमा हेर्न थालिएको छ।

सहकारीकै सहयोगमा देशका प्राय सबै जिल्लामा सानो व्यवसायदेखि ठूला उद्योगसमेत सञ्चालित छन्। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सबै जिल्लामा गरी अहिले कुल ३१ हजार एक सय ७७ सहकारी विभिन्न क्षेत्रमा छन्। जसमा २४ हजार आठ सय ७७ जना महिला र २९ हजार ६१ जना पुरूष गरी कुल ५४ हजार एक सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

- प्रकाश ढकाल