प्लाष्टिकको प्रयोगबारे जनचेतनाको खाँचो

पोखरा, १९ चैत। पोखराका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले प्लाष्टिकको प्रयोगबाट हुने हानीको बारेमा जनचेतना जगाउनको लागि पोखरा उपमहानगरपालिकालाई सुझाव दिएका छन्।

पोखरामा प्लाष्टिकको झोला र गिलासको प्रयोग निषेध गर्नको लागि पोखरा उपमहानगरपालिकाले सुरू गरेको अभियान सकारात्मक रहेको तर कार्यान्वयनमा चुनौति रहेकाले पहिले जनस्तरमै सचेतनाको खाँचो औंल्याएका हुन्। शुक्रबार भएको ‘प्लाष्टिकजन्य झोला निषेध अभियान र प्रदुषण मुक्त पोखरा’ विषयक परिचर्चा कार्यक्रममा नागरिक समाजका प्रतिनिधिले प्लाष्टिकको प्रयोग नगरौं भनेर मात्रै नहुने भएकाले प्लाष्टिकको प्रयोगबाट के कस्ता हानी हुन्छन् त्यसको बारेमा व्यापक जनचेतना फैलाउन जरूरी रहेको निश्कर्ष सहभागीको थियो।

पोखरा उपमहानगरपालिकाले प्लाष्टिकको झोलाको प्रयोग गरेमा कारवाही गर्छुुभनेर मात्रै अभियान सफल नहुने भएकोले आमसञ्चार माध्यममार्फत् प्लाष्टिकको प्रयोग गरी हुने हानी नोक्सानीको बारेमा आमनागरिकमा चेतना फैलाउन सकेमा प्रभावकारी हुने सुझाव पनि उनीहरूको छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्लाष्टिक मुक्त अभियान सञ्चालन गर्दा विरोध भयो भनेर पोखरा उपमहानगरपालिका पछाडि हट्न नहुने सुझाव दिए। ‘खराबलाई खराब भन्न हिच्किचाउनु हुँदैन’-मुल्मीले भने-’व्यावसायिक स्वार्थ र प्लाष्टिकलाई नै जीविकोपार्जनको माध्यम बनाएका बाहेक कसैले पनि यस अभियानको विरोध गरेका छैनन्।’

पोखरा उपमहानगरपालिकाले स्वच्छ र सफा सहर बनाउनको लागि चालेका अन्य कदमप्रति नागरिकहरूको विश्वास जाग्न नसकेको कारण प्लाष्टिकको झोला र गिलास मुक्त अभियानमा विरोध भएको टिप्पणी पनि मुल्मीको छ।

सचेतना समाजका अध्यक्ष सुरेन्द्र थापामगरले पोखरा उपमहानगरपालिकाले सुरू गरको प्लाष्टिक मुक्त सहर बनाउने अभियानमा घरघरबाट सहयोग रहेको बताए। उनले पनि दण्ड सजायको डरभन्दा प्लाष्टिकबाट स्वास्थ्य, वातावरणमा हुने हानी नोक्साको बारेमा चेतना जगाउन सुझाव दिए।

कार्यक्रममा कल्याण पन्तले विकल्प वातावरणीय, स्वाथ्यको हिसाबले प्लाष्टिकको प्रयोग बन्द गर्नुपर्ने बताए। प्लाष्टिकले मानिसलाई मात्रै होइन पशु पंक्षी, जीव जन्तु, हावा, पानी, ध्वनी सबैलाई नरारात्मक असर पारेको उनको भनाइ थियो ।

कार्यक्रममा कन्या क्याम्पसका सहप्राध्यापक इन्द्रकमल मानन्धर, अधिवक्ता तिलक पराजुली, सामाजिक अभियन्ता विश्वमोहन गौचन, दुर्गा भण्डारी, लक्की क्षेत्री, बिष्णुहरि अधिकारी, प्रभा पन्त, पवित्रा गुरूङ, पार्वती पौडेललगायतले प्लाष्टिक हेर्दा राम्रो भए पनि विषालु भएकाले यसको प्रयोगलाई जति सक्दो कम गर्नुपर्ने बताए। रेडियो तरङ्ग, सचेतना समाज र नागरिक समाजले गरेको सचेतना कार्यक्रम अधिवक्ता तिलक पराजुलीको अध्यक्षतामा भएको हो भने कार्यक्रम सञ्चालन रेडियो सफलताकी प्रबन्ध निर्दैशक दुर्गा अधिकारीले गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता