कृष्णलक्ष्मी सप्लायर्समा वाइसिएलको छापा

Krishna-Laxmi-Suppliers-

पोखरा उपमहानगरपालिका-२९ हेमजास्थित कृष्णलक्ष्मी सप्लायर्सको ग्याँस गोदाममा शुक्रबार दिउँसो एमाओवादीको युवा संगठन वाइसिएलले छापा मारेको छ। वाइसिएल क्षेत्र नं.४ का अध्यक्ष भोजराज पौडेलको नेतुत्वमा गएको टोलीले सप्लायर्समा छापा मारेको हो। ‘सप्लायसमा ग्याँस लिन लाइन बसेकाले ग्याँस नपाएपछि छापा मारेको हौं’-वाइसिएल क्षेत्र नं.४ का अध्यक्ष पौडेलले भने-’लुकाएर राखिएको ग्याँस फेला पार्‍यौं र प्रहरीको रोहबरमा स्थानीय उपभोक्तालाई बिक्री गरियो।’

यता कृष्णलक्ष्मी सप्लायर्सका प्रोपाइटर कृष्णप्रसाद त्रिपाठीले भने ग्याँस वितरणका लागि पहिले नै कुपन बाढिसकेको बताउँदै बाँकी कुपनलाई दिन कुर्दै गर्दा वाइसिएल आएर छापा मारेको बताए। ‘कुपन लिएर आएकालाई ग्याँस बाढ्दै थियौं, बाँकी कुपन आउँदै थिए’-उनले भने-’बाँकी कुपनलाई कुर्दै गर्दा वाइसिएल आएर ढोका खोलेर कुपन भएका र नभएकालाई बाँडे। शुक्रबार ५० शक्ति र ५० गृहलक्ष्मीको ग्याँस आएकोमा जिल्ला प्रशासनसँगै सोधेर ३० वटा ग्याँस पोखरा बेचेको र बाँकी हेमजा लगेको त्रिपाठीले जानकारी दिए। नाकाबन्दी खुलेसँगै ग्याँस सहज हुँदा जाँदा पनि ग्याँस लुकाउने काम भइरहेकाले छापा मार्नु परेको र यो निरन्तर रहने वाइसिएल अध्यक्ष पौडेलले बताए।

- अादर्श समाज सम्वाददाता