श्रीमानको कैद मिनाहा गर्न खोज्दा श्रीमतीसमेत पक्राउ

चितवन, १९ चैत। श्रीमानलाई अदालतले तोकेको कैद सजाय र जरिवाना मिनाहा गराउन खोज्दा श्रीमतीसमेत पक्राउ परेकी छन्।

गएको वैशाख १२ गतेको भूकम्पमा परी श्रीमानको मृत्यु भएको भन्दै नक्कली कागजात बनाइ अदालतमा कैद सजाय, जरिवाना मिनाहा तथा धरौटीमा राखेको जग्गा फुकुवा गर्न पुगेकी खैरहनी नगरपालिका-१० निवासी शान्ति ढुङ्गाना र उनका श्रीमान् विष्णुप्रसाद ढुङ्गाना बिहीबार पक्राउ परेका हुन्।

जिल्ला अदालत चितवनका सूचना अधिकारी गम्भीर घिमिरेले दिएको जानकारी अनुसार, खैरहनी नगरपालिका-१० निवासी ४८ वषीय विष्णुप्रसाद ढुङ्गानाले स्थानीय महालक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थामा आर्थिक अनियमितता गरेको भन्दै २०६४ सालमा संस्थाले उजुरी दिएको थियो।

उजुरीका आधारमा ढुङ्गानालाई जिल्ला अदालत चितवनले थुनामा राख्न आदेश दिएको थियो। सो पश्चात् पुनरावेदन अदालत हेटौंडा पुगेका ढुङ्गानालाई पुनरावेदनले तीन लाख ५० हजार रुपैयाँ धरौटी राखी तारेखमा रिहा गरेको थियो। घिमिरेका अनुसार ढुङ्गाना सोही समयमा धरौटी रकम बराबरको आफ्नो र आफन्तको जग्गा जिल्ला अदालतमा धरौटी राखी तारेखमा रिहा भएका थिए।

२०६५ जेठ ३० गते पुनरावेदन अदालतले उनलाई दुर्इ वर्ष कैद, नौं लाख २६ हजार एक सय ७५ रुपैयाँ ७३ पैसा जरिवानाको फैसला सुनायो। फैसलासँगै ढुङ्गाना फरार थिए। गत चैत ३ गते श्रीमती शान्ति ढुङ्गानाले जिल्ला अदालत चितवनमा आफ्नो श्रीमान विष्णुप्रसाद ढुङ्गाना गत वैशाख १२ गतेको भूकम्पमा परी काठमाडौंको सुन्धारामा मृत्यु भएकाले कैद र जरिवाना मिनाहा तथा रोक्का रहेको जग्गा फुकुवा गरी पाउँ भनी चितवन जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।

निवेदनका आधारमा जिल्ला न्यायाधीश टेकनारायण कुँवरले कागजातमाथि शङ्का लागेपछि खैरहनी नगरपालिकाका र वडा कार्यालयमा सोधखोज गर्दा ढुङ्गाना जीवितै रहेको पत्ता लागेको थियो। नक्कली कागजात भएको थाहा पाएपछि आफूले प्रहरीलाई खबर गरेको जिल्ला न्यायाधीश कुँवरले बताए। श्रीमती ढुङ्गानाले नगरपालिकामा मृत्यु दर्ता प्रमाणपत्र बनाउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको भनी नक्कली मृत्यु प्रमाणपत्र पेश गरेकी थिइन्। अस्पतालको मृत्यु प्रमाणपत्रका आधारमा नगरपालिकाले उनलाई मृत्युदर्ता प्रमाणपत्र दिएको थियो। सोही प्रमाणपत्र उनले अदालतमा पेश गरेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्तबहादुर कुँवरले सूचनाका आधारमा काठमाडौंको मण्डीखाटारबाट श्रीमान-श्रीमती दुवैलाई बिहीबार पक्राउ गरेको बताए। उनीहरुलाई शुक्रबार जिल्ला अदालतमा म्याद थप गरिएको छ।

उनीहरुमाथि सरकारी कागज किर्ते गरेकोसमेत अभियोगमा मुद्दा चलाइने कुँवरले बताए। विष्णुप्रसाद ढुङ्गानालाई यसअघि अदालतले तोकेको सजायँ र जरिवाना पनि असुल हुने भएको छ।

- अादर्श समाज सम्वाददाता