ब्रसेल्स विष्फोटमा २६ मारिए

पोखरा, ९ चैत। बेल्जियम र युरोपियन युनियन (इयु)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राटि्रय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ।

Brussels airport

विष्फोटको धमाकाले त्यस आसपासका जनमानसमा ठूलो त्रास उत्पन्न भएको छ। दुर्इ ठाउँमा भएको विष्फोटमा अहिलेसम्म २६ जनाको ज्यान गएको पुष्टि भएको छ। मङ्गलबार स्थानीय समयअनुसार बिहान करिब ८ बजेको व्यस्त समयमा विमानस्थल डिपार्चर एरियामा भएको बम विष्फोटबाट ११ बढीको ज्यान गएको छ। यसलगत्तै इयुको मुख्यालयनजिकै मोलेनवेक ट्राम स्टेसनमा भएको विष्फोटमा परी १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताइएको छ।

निकै ब्यस्त विमानस्थल र ब्यस्त ट्राम स्टेसनमा भएको यो विष्फोटले युरोपको मुटुमा प्रहार गरेको संज्ञा दिइएको छ। ब्रसेल्स युरोपको राजधानीको रुपमा छ भने यहाँ युरोपेली मुलुकहरूको मुख्य बैठक समेत हुने गर्छन्। पेरिस हमलाका मुख्य योजनाकार सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौथो दिनमा यस्तो घटना भएको हो।

ब्रसेल्स क्षेत्रभित्र करिव पाँच सय नेपालीको बसोवास रहेको नेपाली दूतावासले जानकारी दिएको छ। दूतावास अधिकारीहरुका अनुसार कोही पनि त्यसमा नपरेको बताइएको छ। विष्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन।

- अादर्श समाज सम्वाददाता