टुकुचेमा उजिहारा स्मृति पार्क

मुस्ताङ, ९ चैत। टुकुचेमा निर्मित उजिहारा स्मृति पार्क तथा बगैचाको मङ्गलबार उजिहाराकी छोरी मुचुकी र उनको टोलीले उद्घाटन गरेका छन्।

mustang park copy

मितेरी समाजमा राखिएको उजिहाराको अस्तुलाई बाजागाजा र लामा गुरूहरूले मन्त्रोच्चारण गरी स्तुपामा लगेर अस्तु राखेका छन्। उजिहाराको योगदान स्मरण गर्दै टुकुचेका स्थानीयले १२ लाख चन्दा उठाइ पार्क निर्माण गरेका हुन्।

झन्डै ३० वर्षअगाडि फापर खेतीको अन्वेषणमा टुकुचे आएका जापानिज विशेषज्ञ अकिओ उजिहारा तोगा मितेरी समाज टुकेचेका संस्थापक थिए। हाल उनको स्वर्गारोहण भएको तीन वर्ष भइसकेको छ। ‘म मरे भने मेरो लासको एक अंश टुकुचेमा लगेर राखिदिनू’, भन्ने उजिहाराको भनाइ अनुरुप उनको सपनालाई सार्थक तुल्याउन उनकी कान्छी छोरी मुचुकीसहितको १७ जना टोली टुकुचे आएको हो।

आफुले गरेको फापर अनुसन्धान सफल भएकाले टुकुचेका स्थानीय फापर बिशेषज्ञ गोकुल तुलाचनसँग आत्मियता बढाएकाले जापानको तोगा र मुस्ताङको टुकुचेबीच झन्डै २५ वर्ष अगाडि दुर्इ देशबीच मितेरी साइनो लगाइएको नेरास उपशाखा टुकुचेका कल्पना शेरचनको भनाइ छ।उनले भनिन्-‘उजिहारा रमाइला, भद्र, बिद्धान थिए।’ उजिहाले टुकुचेका ९० युवालाई जापानको तोगामा लगेर व्यवसायिक खेतीको तालिम दिएका थिए भने टुकुचेमा निर्माण भएको तोगा मितेरी समाज भवन पनि उनैले बनाएको टुकुचेका समाजसेवी अर्जुनसिह तुलाचनले जानकारी दिए।

कार्यक्रममा पार्क निर्माण समितिका संयोजक पथबहादुर थकालीले पार्क निर्माणमा सहयोग गर्नेहरू धन्यवाद दिएका थिए।

कार्यक्रमको अध्यक्षता अर्जुनसिह तुलाचनले गरेका थिए भने सञ्चालन विष्णु थकाली र दीपसागर थकालीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता