नेपाल-चीन १० सम्झौता, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पक्का

पोखरा, ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन सोमबार द्विपक्षीय १० बुँदे सम्झौता एवम् समझदारी भएको छ।

दुर्इ देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको सम्झौतामा दुर्इ देशबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यान्वयनका लागि आर्थिक एवम् प्राविधिक सहयोगसम्बन्धी सम्झौता, यातायात तथा पारवहन, हुम्ला र सिवारा नदी (हिल्सा) मा पुल निर्माण, व्यवस्थापन, मर्मतलगायतमा सम्झौता भएको हो।

पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कर्जा सम्झौताले लामो समयदेखि बन्ला या नबन्ला भन्ने शङ्का निरुपण गर्ने सम्भावना बढाएको छ। पोखरा विमानस्थलका लागि चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ कर्जा उपलब्ध हुनेछ।

दुर्इ दशक लामो प्रयासपछि पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्ने करिब पक्का भएको हो। ‘कर्जा सम्झौता भएपछि तत्काल काम अघि बढ्छ’-पोखरा विमानस्थल उच्चस्तरीय निर्माण समितिका संयोजकसमेत रहेका सांसद् रवीन्द्र अधिकारीले भने-‘पाँच वर्षभित्र विमानस्थल सञ्चालनमा ल्याइसक्ने हाम्रो प्रयास हो।’

यो कर्जाको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउनेछ। विमानस्थलको लागत निकै बढी भएको भनेर ठूलो विवाद भएपछि चिनियाँ पक्षले २५ प्रतिशत रकम अनुदान स्वरुप उपलब्ध गराउने प्रस्ताव गरेको थियो। अनुदानपछि बाँकी रहने पैसामा नेपालले वाषिर्क दुर्इ प्रतिशत ब्याज तिर्नुपर्छ। तर, यो ब्याज आगामी सात वर्षपछि सुरु हुनेछ। आगामी चार वर्षमा निर्माण सक्ने र पाँच वर्षभित्र विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइसक्ने योजना छ। विमानस्थल सञ्चालनमा आइसकेपछि मात्रै नेपालले ब्याज तिर्नुपर्छ।

यस्तै, नेपालमा पेट्रोल र ग्यासको सम्भाव्यता अध्ययन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ भने जलवायु परिवर्तनसँग जोडिएका विषय सम्बोधनका लागि दुर्इ मुलुकको जनसङ्ख्या तथा वातावरण मन्त्रालयले काम गर्ने गरी सम्झौता भएको छ। यस्तै, बौद्धिक सम्पत्ति संरक्षण प्रणालीको सबलीकरण, नेपाल चीन स्वतन्त्र व्यापार संयुक्त सम्भाव्यता अध्ययन तथा नेपाल राष्ट्र बैंक र चिनियाँ बैंकिङ नियामक आयोगबीचको सम्झौता भएका छन्।

प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच व्यापार विविधीकरण, सीमापार सम्बन्ध र पूर्वाधार विकास, जलविद्युत् क्षेत्रमा सहकार्य, पर्यटन, आर्थिक, शैक्षिक र सांस्कृतिक विषयमा पनि छलफल भयो। दुर्इ पक्षबीच पारस्परिक विश्वास, आपसी हित र सहकार्यको प्रवर्द्धन र थप सबलीकरणका विषयमा पनि विचार आदानप्रदान भएको थियो।

वार्तामा उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद्, मुख्य सचिव र वरिष्ठ अधिकारीको सहभागिता थियो। सोमबार नै चिनियाँ प्रधानमन्त्री खछ्याङले प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यको सम्मानमा दिवाभोज आयोजना गरे। त्यसअघि, ओलीको सम्मानमा ‘ग्रेट हल अफ द पिपल’मा राजकीय सम्मान दिइएको थियो।

दुवै प्रधानमन्त्रीले ‘गार्ड अफ अनर’को निरीक्षण गरे।

- अादर्श समाज सम्वाददाता