ह्यारीको स्वागतमा आतुर पोखरा

हृयारीको भ्रमणलाई पोखरेलीले गौरव र अवसरका रूपमा लिएका छन्। उनले पोखरा भ्रमणसँगै बेलायती गोर्खा क्याम्पको अवलोकन, गोर्खा भर्ती प्रक्रिया र गोर्खा सैनिकमा भर्ती हुने समुदायसँग अन्तक्रिर्या गर्ने कार्यक्रम छ।

पोखरा, ७ चैत। पोखरा लाहुरेहरूको सहर। लाहुरे इतिहासको लामो कालखण्ड पार गरेको पोखराले अहिले पनि लाहुरेहरू जन्माइरहेका छ। भारत बेलायतलगायतका देशसँग गोर्खा सैनिकको सम्बन्ध जोडेको पोखराले दुर्इ यस वर्ष पूरा गरिसकेको छ। इमान्दार र साहसी सेनाका रूपमा नाम कमाएको गोर्खा सैनिकको सहर पोखराले मङ्गलबार अर्को अवसर प्राप्त गर्दैछ। बेलायती सेनामा सेवा गरेकाहरूको सहर पोखराले बेलायती राजकुमार हेनरी चार्ल्स अर्ल्बर्ट डेभिड ‘ह्यारी’ आफ्नै आगनमा स्वागत गर्न आतुर छ।

prince harry

पहिलो पटक सार्क बैठकले उत्साहित पोखरा ह्यारीको आगमनले थप उत्साह थप्न तम्तयार अवस्थामा छ। पाँच दिने नेपाल भ्रमणमा आएका ह्यारी मङ्गलबार पोखरा आउँदैछन्।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको दुर्इ सय वर्ष पुगेको अवसरमा पारस्परिक सम्बन्धका दुर्इ शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा पहिलो पटक नेपाल आएका बेलायती राजकुमार ह्यारी सोही क्रममा पोखरा आउन लागेका हुन्।

ह्यारीको नेपाल भ्रमणको कार्यक्रम अर्न्तर्गत पोखरा भ्रमणसमेत पर्नुलाई पोखरेलीले महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए। ह्यारीको भ्रमणलाई अत्यन्त प्रभावकारी बनाउन पोखरा यतिखेर क्रियाशील रहेको बताउँदै उनले सार्क बैठक भएसँगै अन्तर्राष्ट्रिय चर्चा पाएको पोखरालाई ह्यारी भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा पोखराका सम्पूर्ण उद्योगी-व्यवसायीले सार्कको भव्य सफलतासँगै हुन लागेको ह्यारीको भ्रमणलाई यस क्षेत्रको अन्तर्राष्ट्रियकरणका लागि ठूलो अवसर भएको बताउँछन्।

भूकम्प र नाकाबन्दीले प्रभावित यहाँको पर्यटन व्यवसायलाई थप उचाइमा पुर्‍याउन ह्यारीको भ्रमण अर्को महत्वपूर्ण अवसर भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाको भनाइ छ।

ह्यारीको पोखरा भ्रमणलाई पोखरेलीले ठूलो गौरव र अवसरका रूपमा लिएका छन्। सन् १८१५ देखि बेलायतको हरेक युद्धमा गोर्खाले साथ दिएका थिए। ती युद्धमा बहादुरी र इमान्दारितापूर्वक गोर्खा फौजले लडे। पहिलो र दोस्रो विश्वयुद्धमा ४० हजारभन्दा धेरै गोर्खा सैनिकले बेलायतको लागि ज्यान गुमाएको सम्झना गर्दै नेपाल आएलगत्तै ह्यारीले मुक्त कण्ठले प्रशंसा गरेका छन्।

बेलायती गोर्खा सैनिकसँगै अफगानिस्तामा समय बिताएका ह्यारीले पोखरामा बेलायती गोर्खा क्याम्पको भ्रमण गर्नेछन्। त्यस्तै, उनले गोर्खा भर्ती प्रक्रियाबारे समेत जानकारी लिने खबर छ। साथै गोर्खा सैनिकमा भर्ती हुने समुदायसँग उनले अन्तक्रिर्या गर्ने तय भएको बताइएको छ।

बेलायतकी महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुर्इ पटक नेपालको भ्रमण भयो भने युवराज चार्ल्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन्। बेलायतबाट हालसम्म भएका ३९ उच्चस्तरीय भ्रमणले आपसी समझदारी, साझेदारी र सहकार्यलाई सघन तुल्याउन मद्दत पुगेको छ।

- अादर्श समाज सम्वाददाता