प्रधानमन्त्री बेइजिङमा

पोखरा, ७ चैत। प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणको क्रममा आइतबार चीनको राजधानी बेइजिङ पुगेका छन्।

kp oli

प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङ्गको निमन्त्रणामा १४ गतेसम्म हुने भ्रमणका क्रममा आइतबार त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लिउ जेन मिन, चीनका लागि नेपाली राजदुत डा. महेशकुमार मास्के तथा परराष्ट्र मन्त्रालय तथा राजदुतावासका उच्चपदस्थ अधिकारीहरुले स्वागत गरे।

प्रधानमन्त्री ओलीले भारत जानुअघि भनेका थिए म डोकाभरी केही ल्याउँला भनेर भारत जान लागेको होइन।

सायद त्यो भारतसँग राजनीतिक सम्बन्ध सुधारको समय थियो। तर, चीन भ्रमणलाई भने भारतप्रतिको अधिक निर्भरता कम गर्ने उपायको रुपमा हेरिएको छ। चाहे त्यो इन्धनमा वा अरु व्यापारमा पनि हुनसक्छ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालबाट धेरै आशा राखिएको विषय हो, इन्धन आपुर्ति। नाकाबन्दीपछि कम्तीमा एक तिहाइ पेट्रोलियम आपुर्ति चीनबाटै गर्ने भनेर सरकारी अधिकारीले बताइसकेका थिए। प्रधानमन्त्री ओलीको भ्रमणताका अन्तर्राष्ट्रिय व्यापारमा नेपाललाई पारवहन सुविधा दिनेबारे सम्झौता हुने भएको छ। भूपरिवेष्ठित नेपालले दुर्इ छिमेकीमध्ये अहिलेसम्म दक्षिण तिरको भारतबाट मात्र पारवहन सुविधा लिंदै आएको थियो।

चिनियाँ बन्दरगाहमा नेपालबाट व्यापारका लागि सबैभन्दा सहज हुने ग्वाङचाउ हो।ग्वाङचाउ साङ्घाइपछि चीनको दोस्रो ठूलो व्यापारिक बन्दरगाह हो।

- अादर्श समाज सम्वाददाता