सार्कका विदेशमन्त्रीहरू पोखरामा

अबका सार्क सम्मेलन नोभेम्बरमा

पोखरा, ३ चैत। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलन अबदेखि नोभेम्बर महिनामा मात्रै हुने भएको छ।

saarc-meeting

प्रत्येक दुर्इ वर्षमा हुने सम्मेलन यसअघि अवस्था हेरी गर्ने गरिएको थियो। पोखरामा जारी सार्क बैठक अन्तर्गत बुधबारको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। यद्यपि यसलाई बिहीबार हुने परराष्ट्र मन्त्री स्तरीय बैठकले अन्तिम निर्णयका रुपमा सार्वजनिक गर्नेछ। महिना तोकिए पनि गते भने सम्मेलन आयोजक राष्ट्रले सदस्य राष्ट्रहरूको सहमतिमा टुङ्ग्याउने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताए। ‘हामीले एउटा सिस्टम सुरुवात गर्न लागेका हौँ’-उनले भने।

बुधबारको बैठकले विभिन्न ३२ एजेण्डामा छलफल गरेको छ। दुर्इ दिनसम्म भएको कार्यक्रम समितिको बैठकबाट प्रस्ताव भएर आएका निर्णयमाथि नै स्थायी समितिले छलफल गरेर मन्त्रीस्तरीय बैठकमा पेश गर्ने मुद्दाको टुङ्गो लगाएको हो। उनका अनुसार सामुदायिक वन व्यवस्थापन कार्यक्रम नयाँ एजेण्डा हो, जुन बिहीबारको बैठकमा व्यापक छलफल हुनेछ।

कार्यक्रम समितिको बैठकमा नेपालका तर्फबाट सहसचिव मणिप्रसाद भट्टराईले यो कार्यक्रमको प्रस्ताव गरेका थिए। त्यसपछि सबै राष्ट्रले अनुमोदन गरेका हुन्। नेपालमा सामुदायिक वन व्यवस्थापन कार्यक्रम निकै प्रभावकारी भएकाले सार्क राष्ट्रभरि नै फैलाउने योजनासहित प्रस्ताव गरिएको सहसचिव भट्टराईले जानकारी दिए। ‘सार्कले धेरै काममा हात हालेको छ, अब रिजल्ट बेस कार्यक्रममा फोकस हुनेछौं’-सचिव वैरागीले भने-‘आवश्यक पर्ने सबै क्षेत्र खोजिसकेका छौं, अब कार्यान्वयन गर्न थाल्नुको विकल्प छैन।’

बैठकमा सार्क इकोनोमिक युनियनको महासचिव मन्त्रीस्तरीय बनाउने बिषयमा पनि छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेषगरी यसअघिका निर्णय कार्यान्वयनमा विदेशमन्त्री स्तरीय ३७ औं बैठक केन्द्रित हुनेछ। यस्तै, आतंकवाद र उग्रवाद अन्त्य गर्न, सार्क क्षेत्रको गरिबी न्यूनीकरण गर्न र कनेक्टीभिटी स्थापना गर्नमै बैठकको जोड हुनेछ। योबाहेक भारत र पाकिस्तानबीचको बार्तालाई बैठकको मुख्य रुपमा लिइएको छ। भारतीय विदेश मन्त्री सुष्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहबार सताज अजिजबीच साइडलाइन भेटवार्तासमेत तय भइसकेको परराष्ट्र अधिकारीले बताए। सबै मुलुकका विदेश मन्त्रीले एक अर्कालाई छुट्टाछुट्टै भेट्ने गरी व्यवस्थापन मिलाइएकाले अन्य मुलुकका विदेश मन्त्रीले पनि एकअर्काबीच छलफल गर्नेछन्। यसले पोखराको सार्क बैठक समेत भारत-पाकिस्तानको विदेशमन्त्री बैठकले महत्व पाउने अनुमान सबैको छ। भारत र पाकिस्तान सम्बन्धका कारण सार्क अघि बढ्न नसकेको गुनासो आइरहेका बेला यो बैठकबाट सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ।

बिहीबार हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सार्क राष्ट्रका विदेशमन्त्रीहरू पोखरा आइसकेका छन्। बैठकमा सहभागी हुनका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज पहिलो पाहुनाका रुपमा पोखरा आइपुगेकी छन्। उनी बुधबार अपरान्ह गोरखपुरबाट हेलिकोप्टरमा सीधै पोखरा आएकी हुन्। अन्य देशका मन्त्री भने काठमाडौं हुँदै आएका छन्। सबै पाहुनालाई उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले स्वागत गरे। विदेशमन्त्रीहरूलाई पोखरेलीले समेत झाँकी र बाजागाजासहित स्वागत गरेका थिए।

बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्र्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जार्इ र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुँदै छन्। अफगानिस्तानका उपविदेशमन्त्री कार्जार्इ सचिव स्तरीय बैठकमा पनि सहभागी भएकाले उनी मङ्गलबार नै पोखरा आएका हुन्।

सहभागीको स्वागतमा परराष्ट्रमन्त्री कमल थापाले बुधबार रात्रिभोजको आयोजना गरेका छन्। मन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। यसैबीच, बुधबार बेलुका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव जयशंकरका बीच भेटवार्ता भएको छ। करिब ४५ मिनेट भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

- अादर्श समाज सम्वाददाता