सार्क बैठक पुरानै निर्णयमा केन्द्रित

पोखरा, २ चैत। दुर्इ दिनदेखि पोखरामा जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को कार्यक्रम समितिको बैठकले नयाँ एजेण्डाका रूपमा सामुदायिक वन व्यवस्थापनलाई प्रस्ताव गरेको छ।

saarc-logo

वन संरक्षण र वनबाट गर्न सकिने आयआर्जनलाई मध्येनजर गरी सामुदायिक वन व्यवस्थापनको प्रस्तावअघि सारिएको कार्यक्रमका अध्यक्ष तथा परराष्ट्र मन्त्रालयका सह-सचिव मणिप्रसाद भट्टराईले जानकारी दिए। ‘यो प्रस्तावले गरिबी न्यूनीकरण, ग्रामिण विकास र जलवायु परिवर्तन कम हुने अपेक्षा गरिएको छ’-उनले भने-‘नेपालले ल्याएको प्रस्तावलाई कार्यक्रम समितिले सहमत जनाएका छन्, यसलाई सचिव र मन्त्रीस्तरीय बैठकमा लैजाने छौं।’ नेपालमा सामुदायिक वन कार्यक्रम प्रभावकारी भएकाले दक्षिण एसियाली क्षेत्रमै विस्तार गर्नका लागि प्रस्ताव गरिएको उनले बताए।

सोमबारदेखि सुरू भएको बैठकमा यसअघि भएका निर्णय कार्यान्वयनको अवस्था नै प्रमुख छलफलको विषय बन्यो। सार्क मिडिया सेन्टर, साउथ एसियन युनिभर्सिटी, सार्क डेभलपमेन्ट फन्ड, सार्क आर्बिट्रेसन काउन्सिल, साउथ एसियन रिजनल स्टार्ण्र्डडस् अर्गानाइजेसनलगायतका विषयमा कार्यक्रम समितिले गहिरो छलफल गरेको आयोजक कमिटीले जनाएको छ।

यसैगरी, कृषि, भेटेरेनरी, बिउँ बैंक, योजनामा आधारित सहयोग, आतङ्कवाद र लागुऔषध, सूचना र सञ्चार, सार्क क्षेत्रीय योजना परिषद् स्थापना, उर्जा केन्द्रले गरेको काम, सार्क क्यालेन्डर पुनरावलोकनका बिषयमा पनि छलफल गरिएको छ।

सार्कका एजेण्डामा व्यापक छलफल हुने गरेपनि कार्यान्वयन पक्ष निकै फितलो भएकाले यो सम्मेलनले कार्यान्वयन पक्षलाई समेत जोड दिइएको भट्टराईले बताए। ‘मैले उद्घाटनको बेलादेखि नै सार्कको मेकानिजम, कार्यक्रम र गतिविधि कार्यान्वयनलाई जोडदार रूपमा उठाएको छु-उनले भने-‘कार्यान्वयन भएन भने यसको औचित्य हुने छैन, अको वर्ष पाकिस्तानमा हुने १९ औं शिखर सम्मेलनमा पनि यही विषयलाई केन्द्रमा राखेर लगातार छलफल गरिरहने छौं।’ भट्टराईका अनुसार मङ्गलबारसम्म विभिन्न आठ विषयका प्रस्तावमाथि छलफल भएको छ।

कार्यक्रम समितिले सचिवस्तरीय बैठकको एजेण्डा तयार गरेको छ। यद्यपि अन्तिम रूपम दिन भने बाँकी नै छ। परराष्ट्र मन्त्रालयका सहसचिव सम्मिलित बैठकको निर्णय स्थायी समितिमा लगिने छ र अन्तिम दिन हुने मन्त्रीस्तरीय बैठकबाट एजेण्डाको रूपमा पारित गरिनेछ। दुर्इ दिनको बैठकबाट सार्क कृषि केन्द्र र अन्तर्राष्ट्रिय बाली अनुसन्धान इस्टिच्युट स्थापना गर्न सबै राष्ट्रबाट सहमति जुटाएर सम्झौताका लागि तयार भएको छ। यसमा सबै राष्ट्रका परराष्ट्र मन्त्रीहरूले हस्ताक्षर गर्नेछन्। यो बैठकले सार्क राष्ट्रभित्र सञ्चालन हुने राष्ट्रिय समाचार एजेन्सी, टेलिभिजन र रेडियोको समाचार, श्रव्य-दृष्य सामग्री आदान-प्रदान गर्ने गरी सूचना केन्द्र स्थापना गर्नसमेत पहल गरेको छ।

बुधबार तेस्रो दिन स्थायी समिति बैठक हुनेछ। बैठकमा सहभागी हुनका लागि सबै राष्ट्रका सचिव पोखरा आइसकेका छन्। बैठकका लागि नेपालका तर्फबाट उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा र अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद काजाई पनि मङ्गलबार नै पोखरा आइपुगेको सहायक सिष्टाचार महापाल राजाराम बतौर्लाले जानकारी दिए। बाँकी मन्त्रीहरू बुधबारमात्रै पोखरा आउनेछन्। भारतीय विदेशमन्त्री विशेष विमानमार्फत् भारतबाट सिधै पोखरा आउने र अन्य मन्त्रीहरू काठमाडौंबाट पोखरा आउने बताइएको छ। बैठकका सहभागीले नजिकका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमणसमेत गर्न सक्ने भएकाले आसपासका सडक तथा अन्य संरचना मर्मतसम्भार गरिएको छ।

- अादर्श समाज सम्वाददाता