‘चीनसँग आधा दर्जन समझदारी’

काठमाडौँ, १ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणमा दुर्इ देशबीच करिब आधा दर्जन विषयमा समझदारी हुने भएको छ।

nepal-china-flag

परराष्ट्रमन्त्री कमल थापाले मिडिया नेपालद्वारा सोमबार आयोजित घोषणासभालाई सम्बोधन गर्दै छिमेकी मित्र राष्ट्रको भ्रमणका अवसरमा पारवहन, व्यापार, लगानीलगायत विषयमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने जानकारी दिए। नेपालको पूर्वाधार विकासका बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण कुराकानी र निर्णय हुने अपेक्षा नेपाली पक्षले गरेको छ।

प्रधानमन्त्री ओलीले यही चैत १० देखि सुरु हुने बोआओ फोरम सम्मेलनलाई पनि सम्बोधन गर्नेछन्। सो अवसरमा त्यहाँ उपस्थित विश्वका विभिन्न राष्ट्रका नेतासँग प्रधानमन्त्री ओलीले द्विपक्षीय र बहुपक्षीय कुराकानी गर्ने बताइएको छ।

प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि यही चैत ७ गते त्यसतर्फ प्रस्थान गर्दै छन्।

- अादर्श समाज सम्वाददाता