मुस्ताङमा नारी दिवस

मुस्ताङ, २६ फागुन। ८ मार्चमा वर्षेनि मनाइने अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस हिमालपारिको जिल्ला मुस्ताङको कोवाङ गाविसमा पनि मनाइएको छ।

mustang

महिला तथा बालबालिका कार्यालय जोमसोमको संयोजन तथा महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा महिला, हक, अधिकार सुनिश्चितताको विषयमा सहभागीले आफ्ना विचार राखेका थिए।

निमित्त महिला विकास अधिकृत सुशीला तिमिल्सिनाले कार्यक्रमको औचित्यबारे प्रकाश पारेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नेपाली महिलाको पहुँच राज्यका हरेक निकायमा पुगिसकेको बताउँदै पहुँच अझ बढाउँदै प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने विचार राखे।

कार्यक्रमका अध्यक्ष प्रेमकुमारी शेरचनले महिला सक्षम नभएसम्म अधिकारका कुरा सार्थक नहुने बताइन्।

कार्यक्रममा महिला समूहका अध्यक्ष शर्मिला गुरूङ, सुनदेवी रसाइलीले देश नयाँ परिवर्तनको दिशामा अघि बढेकाले महिलाले पनि हिनतावोध त्यागेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा थकाली नृत्य, गायनतर्फ टुकुचे, कोवाङ, धम्पु र कुन्जो गाविसका महिलाको सहभागिता थियो।

कार्यक्रममा आयोजित घैटो फुटाउने खेलमा प्रगतिशील महिला बहुद्देश्यीय संहकारी संस्था कुञ्जो प्रथम धौलागिरी महिला बहुद्देश्यीय सहकारी संस्था टुकुचे द्वितीय र पुथाङ महिला बहुउद्देश्यीय सहकारी संस्था तृतीय भएका थिए।

कार्यक्रमअघि महिलाको र्‍यालीले कोवाङगाउँ परिक्रमा गरेको थियो।

- अादर्श समाज सम्वाददाता