‘समुन्नतिका लागि आत्यात्मिक ज्ञान जरुरी’

पोखरा, २५ फागुन। ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय मालेपाटनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं ८० औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा विश्व परिवर्तनमा नारीको भूमिकाबारे छलफल भएको छ।

brahma kumari

कार्यक्रमको उद्घाटन गर्दै स्टेप बाइ स्टेपका प्राचार्य निर्मला बरालले विश्व परिवर्तन महिलाको दिव्य ज्ञानबाट मात्र सम्भव हुने उल्लेख गरे। महिला संसारको सृष्टिकर्ता भएकाले पनि समाजलाइ समुन्नत बनाउन महिला आध्यात्मिक रुपमा जाग्न जरुरी रहेको उनको भनाइ थियो।

पार्दी शाखाका सञ्चालक ब्रम्हकुमारी अप्सराले नारीको आध्यात्मिक शक्तिबाट मात्र विश्व शान्ति सम्भव हुने दावी गरिन्।

मालेपाटन शाखाका सञ्चालन ब्रम्हकुमारी पुनमले संसार परिवर्तनका लागि श्वेत क्रान्ति, हरित क्रान्ति, शस्त्रअस्त्र क्रान्ति भए पनि मानिसमा शान्ति छाउन नसकेको बताइन्। उनले विश्व शान्ति संस्कारको क्रान्तिबाट मात्र सम्भव हुने विचार राखिन्। ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयका महासचिव शैलेशराज बरालले विश्वविद्यालय नारी शक्तिबाट सञ्चालित भएर विश्वभर दिव्य ज्ञान प्रवाह गर्न सफल भएको बताए।

कार्यक्रममा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय पश्चिमाञ्चलका निर्देशक राजयोगिनी परिणिता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेल, सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मालगायतले बोलेका थिए। ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय पश्चिमाञ्चलका निर्देशक राजयोगिनी परिणिताको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत ब्रम्हकुमारी विनी र सञ्चालन ब्रम्हकुमारी सुमनले गरेकी थिइन्। सो अवसरमा ८० औं त्रिमूर्ति शिव जयन्तीको ध्वजारोहरणसमेत गरिएको थियो।

- एजेन्सी