‘अवसर पाए महिलाले पनि देश हाक्छन्’

पोखरा, २५ फागुन। अवसर पाएमा महिलाले पनि मुलुकको नेतृत्व लिन सक्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले महिलाले पनि नेतृत्व लिनसक्ने गतिलो उदाहरण अहिले मुलुकमा देखिएको बताए। अखिल नेपाल महिला संघ (क्रान्तिकारी), कास्की र अखिल नेपाल टे्रड युनियन महासंघ, महिला समिति, कास्कीले आयोजना गरेको ‘नयाँ संविधानमा महिला सहभागिता र ८ मार्च’ विषयक अन्तक्रिर्यामा बोल्ने वक्ताले यस्तो विचार व्यक्त गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ (क्रान्तिकारी) का ४ नम्बर प्रदेश इन्चार्ज सुशीला सिंखडाले मुलुकको नेतृत्व गर्ने साहस र क्षमता महिलामा रहेको बताइन्। उनले भनिन्-‘अवसर आए महिलाले यो मुलुक हाँकेर सफल बनाएर देखाउँछन्।’ सिंखडाले महिलालाई राज्यका हरेक निकायमा विशेषाधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिइन्।

उनले संविधानमा ३३ प्रतिशत आरक्षणको सुनिश्चिता भए पनि प्रत्येक राजनीतिक दलले भने प्राथमिकता नदिएको गुनासो गरिन्। ‘राजनीतिक पार्टीले विशेषाधिकारलाई प्राथमिकता नदिँदा राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व हुन सकेको छैन’-उनले भनिन्।

एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले महिलाको योग्यता र क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले विशेषाधिकारसहित महिलाका लागि अनिवार्य शिक्षा, आर्थिक सशक्तीकरणजस्ता योजनामा लगानी गर्नुपर्ने बताए।

सांसद तेजकुमारी पौडेलले स्थानीय निकायमा अध्यक्ष वा उपाध्यक्षमध्ये एक महिला, जिल्लामा पनि त्यत्ति नै संख्यामा महिला प्रतिनिधित्व सुनिश्चित गर्न पहल भइरहेको जानकारी दिइन्।

अनेमसंघ (क्रान्तिकारी) का ४ नम्बर प्रदेश संयोजक गायत्री दुराले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गरे पनि लैङ्गिक समानता अपेक्षाकृत रुपमा हुन नसकेकोमा चिन्ता व्यक्त गरिन्।

पूर्व सभासद् एवं एमाओवादी कास्कीकी कोषाध्यक्ष दुर्गा विकले महिलाको चौतर्फी विकासका लागि राज्यले लगानी गर्नुपर्ने र राष्ट्रिय योजना बनाएर कार्यक्रम लैजानुपर्नेमा जोड दिइन्।

अखिल नेपाल टे्रड युनियन महासंघ, कास्कीका अध्यक्ष राजेन्द्र न्यौपानेले घरेलु श्रमलाई औपचारिक मान्यता दिइ सामाजिक श्रमका रुपमा स्थापना गर्न सके महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) कास्कीका कोषाध्यक्ष सुमिता बस्नेतले ‘नेपालको संविधान २०७२, लैंगिक समावेशिता र ८ मार्च’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

अखिल नेपाल टे्रड युनियन महासंघ, महिला समिति, कास्कीकी अध्यक्ष जमुना  गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अनेमसंघ (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष कल्पना पाण्डे र सञ्चालन सचिव निर्मला न्यौपानेले गरेकी थिइन्।

- एजेन्सी