अर्ना र बाह्रसिङ्गे ल्याउन अध्ययन

चितवन, २४ फागुन। चितवन राष्ट्रिय निकुञ्ज अर्ना र बाह्रसिङ्गेको बासस्थानका लागि उपयुक्त थलो हुन सक्ने भन्दै ती जनावर ल्याउन अध्ययन र तयारी सुरु गरिएको छ।

barasingah

हाल कोसी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गे छन्। चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावर राख्न उपयुक्त हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए। कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बाह्रसिङ्गे ल्याउन निकुञ्जले गृहकार्य थालेको छ।

सम्भावना अध्ययनकै क्रममा कोसीटप्पु वन्यजन्तु आरक्षमा पुग्नुभएका कँडेलले भने(‘चितवन राष्ट्रिय निकुञ्ज यी दुर्इ जनावरका लागि उपयुक्त थलो हुन सक्छ।’

buffalo

यी आरक्ष र चितवन राष्ट्रिय निकुञ्ज दुबै तराईमा रहेको उपोष्ण हावापानी भएको, आहाल र प्रशस्त पानीको सम्भावना रहेको, झाडी बुटयान र खुल्ला जङ्गल एवम् घाँसेमैदान भएकाले पनि अर्ना र बाह्रसिङ्गेका लागि चितवन उपयुक्त भएको उनको तर्क छ। जनावरको विविधीकरणका साथै बाघको सङ्ख्या बढ्दै गएकाले सिकार क्षेत्र बढाउन पनि यी जनावर चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्नु राम्रो हुने उनले बताए। कोसीमा सफा पानी भएको कोसी नदी छ भने चितवन राष्ट्रिय निकुञ्ज हुँदै सफा पानी बग्ने राप्ती नदी छ जुन अर्ना र बाह्रसिङ्गे दुबैका लागि उपयुक्त छ।

अर्ना बथानमा बस्ने हुँदा शत्रुबाट सुजिलै बच्न सक्छन्। बाह्रसिङ्गे पनि बथानमै बस्ने जनावर हो। चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ती जनावरको बासस्थानका लागि व्यवस्थापन कार्य पनि थालिएको छ। पुराना पोखरीको मर्मतसम्भार सुरु भएको छ भने घाँसेमैदान विस्तार गर्ने र व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए। हाल नेपालमा कोसी टप्प वन्यजन्तु आरक्षमा सन् २०१३ को गणनाअनुसार तीन सय २६ वटा अर्ना छन्। यस वर्ष पुनः गणना हुँदै छ। बाह्रसिङ्गे शुक्लाफाँटामा दुर्इ हजार दुर्इ सय र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सयको हाराहारीमा छन्।

चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, हात्ती, जरायो, चित्त, लघुना, गौरीगाई, बँदेल, नीलगाईजस्ता जनावरका साथै दुर्इ सय ६५ प्रजातिका चरा, ६४ प्रजातिका स्तनधारी, एक सयभन्दा बढी प्रजातिका घस्रने र उभयचर पाइन्छन्। बाह्रसिङ्गे र अर्नाको चितवन राष्ट्रिय निकुञ्जमा विस्तार गर्न सकिएमा यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। निकुञ्ज विभागले सम्भावना रहेका स्थलमा सो क्षेत्रमा नरहेका जनावरको स्थानान्तरण गर्न निकुञ्जहरूलाई उत्प्रेरित गर्दै आएको छ। कोसी टप्पु वन्यजन्तु आरक्ष एकसिङ्गे गैँडाका लागि उपयुक्त थलो भएको भन्दै सो आरक्षमा पनि एकसिङ्गे गैँडा स्थानान्तरणको अध्ययन थालिएको छ।रासस

- अादर्श समाज सम्वाददाता