झुसिलकिराको प्रकोपले भेडाबाख्रा मरे

बाबियाचौर (म्याग्दी), २४ फागुन। म्याग्दीको राहुघाट क्षेत्रमा झुसिलकिराको प्रकोप फैलिएको छ। एक महिनादेखि फैलिएको झुसिलकिराका कारण पशुचौपाया र मानिस प्रभावित भएका छन्।

जङ्गलमा चरनका लागि गएका भेडाबाख्राले घाँससँगै झुसिलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताइन्। उनका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटाभन्दा बढी भेडाबाख्रा मरिसकेका छन्।

घाँससँगै झुसिलकिरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र ढाडिएर भेडाबाख्रा मर्ने क्रम बढेको पुनले बताए। विशेषगरी उत्तिसका रुख भएको जङ्गलमा झुसिलकिरा फैलिएको छ। मानिस पनि काउसो बिझने हुँदा जङ्गलमा घाँस दाउरा गर्न जान सकेका छैनन्।

चिमखोलाका साथै छिमेकी कुइनेमङ्गले, दग्नाम र पाखापानी गाविसको जङ्गलमा पनि झुसिलकिराको प्रकोप फैलिएको छ। झुसिलकिराले स(साना बोटबिरुवाका डाँठ खाएर सखाप बनाएको छ। जङ्गलभरि झुसिलकिरा फैलिएको चिमखोलाका गाविस सचिव जीतबहादुर सुनारले बताए।

केही ठाउँका बासिन्दाले झुसिलकिराको प्रकोप नियन्त्रण गर्न जङ्गलमा डढेलो लगाएका छन्। जसले गर्दा वन्यजन्तु, पक्षीको वासस्थानका साथै घरपालुवा जनावरलाई चरनको अभाव भएको छ। झुसिलकिराको प्रकोपले सो क्षेत्रका सयौँ हेक्टर जङ्गल सखाप पारेको छ।

म्याग्दीका जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले झुसिलकिराको प्रकोपका बारेमा आफूलाई जानकारी नभएको र सम्बन्धित इलाका वन कार्यालयसँग बुझने प्रतिक्रिया दिए।

- रासस