भिआइपीका नाममा अनावश्यक खर्च : नेपाल

नवलपरासी, २३ फागुन। पूर्व शिक्षा मन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप नेपालले भिआइपीको सुरक्षाको नाममा सरकारले राज्यको ढिकुटी रित्याउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार नवलपरासीको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको नयाँ भवनको उद्घाटन तथा १० औं वाषिर्कोत्सवमा नेपालले यस्तो धारणा राखेका हुन्। उनले पूर्व राष्ट्रपति उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीलाई सुरक्षा दिइने नाममा लावालस्कर लगाएर गरिने सुरक्षा व्यवस्था र अन्य सुविधा अन्त्यन्त खर्चिलो हुने भन्दै त्यसको विरोध गरे। नेपालले भने-‘नेपाल भूकम्पबाट आक्रान्त छ। यस्तो बेला पुनर्निर्माणमा लाग्नुपर्नेमा यो देशको लागि थप आर्थिक भार भएको छ।’

नेपालले देशमा संविधान जारी भएसँगै नेपाल नवयुगमा प्रवेश गरेको दावीसमेत गरे। उनले मधेसी दलले संविधानप्रति असन्तुष्टि राख्नुको कुनै कारण नभएको जिकिर गर्दै संविधान राम्रो र अधिकार सम्पन्न संविधान बनेकोसमेत बताए।

नेपालले मुलुक पुँजीवाद युगमा प्रवेश गरेकाले प्राइभेट कलेजहरू खोल्नु सराहनीय काम भएकोसमेत बताए।

- अादर्श समाज सम्वाददाता