अधिकारीलाई स्वर्गीय ललित गौचन स्मृति सम्मान

पोखरा, २३ फागुन। स्वर्गीय ललित गौचन स्मृति समाजसेवी पुरस्कार यस वर्ष वैदाम, लेकसाइडका सामाजिक अभियन्ता गिरिधारी अधिकारीलाई प्रदान गरिएको छ।

नागरिक समाज पोखराले आइतबार एक कार्यक्रमको आयोजना गरी अधिकारीलाई सम्मान गरेको हो।

अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पर्यटनविद् झलक थापले सम्मानपत्र, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले फूल र पवित्रा जिसीले अविर लगाइ सम्मान गरेका थिए।

लामो समय टोल विकास संस्था वडा समन्वय समिति पोखरा-६ मार्फत् विकासका पूर्वाधारलगायत वातवरण एवम् सम्पदा संरक्षण अभियानमा क्रियाशील अधिकारी वसुन्धरा पार्क बचाऊ आन्दोलनका अध्यक्षसमेत हुन्। सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका एक व्यक्तित्वलाई प्रत्यक वर्ष स्वर्गीय गौचनको वाषिर्क पुण्यतिथिमा सम्मान गरिँदै आएको छ। यस अघि यो सम्मानबाट समाजसेवी प्रभा पन्त सम्मानित भइसकेकी छन्।

कार्यक्रममा बोल्दै पर्यटनविद् थापाले पोखरालाई हेर्नका लागि सुन्दर मन चाहिने बताए। ‘आँखामा आत्मीयता, व्यवहारमा हार्दिकता र इमान्दारिता छैन भने त्यसलाई म पोखरेली नै भन्दिनँ’-उनले भने-‘सुन्दर पोखरलाई राम्रोसँग हेरिदिनुहोस्, म यही आग्रह गर्दछु।’

पोखरा आएदेखि नै आफूले पोखरालाई सुन्दर पाएको बताउँदै उनले सुन्दर पोखरामा सुन्दर मन भएका मानिस पनि बस्छन् भन्ने सन्देश दिन जरुरी रहेको उल्लेख गरे। ‘हाम्रो पोखरा नै स्र्वर्ग हो तर हामी स्र्वर्गमा बस्ने आचरण खोइ’-उनले प्रश्न गर्दै भने-‘पोखरा हेर्नका लागि सुन्दर मन चाहिन्छ, सुन्दर चिज हेर्नका लागि सुन्दर मन बनाउने प्रयास गर्नुहोला।’

पोखराको सौर्न्दर्य जोगाउनमा नागारिक समाज पोखराले पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

आफू कुनै संघ, संस्था तथा राजनीतिमा नलागेको बताउँदै उनले राजनीति सबैमा निराशा छाएको उल्लेख गरे। ‘नेपालमा यति धेरै राजनितिक परिवर्तन भयो तर विकास भएन’- थापाले भने-‘नागरिकले भोट हालेका हाल्यै छन् तर भोट राजनीतिक दलका नेताले पाए, देशले केही पाएन।’

सम्मानित व्यक्तित्व गिरिधारी अधिकारीले सम्मानले आफूलाई समाज अझै क्रियाशील बन्ने प्रेरणा मिल्ने बताए।

कार्यक्रममा स्वर्गीय गौचनको परिवारको तर्फबाट उनका भाई ओम गौचनले अक्षयकोषका लागि २५ हजार पाँच सय पाँच रुपैया सहयोग गरे।

कार्यक्रममा अघिल्लो वर्ष सम्मानित व्यक्तित्व प्रभा पन्त, प्रतिभा छनौट समितिका संयोजक राममोहन आचार्य र परिवारका सदस्य ओम गौचनले बोलेका थिए। नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्थ संयोजक सावित्री शर्माले धन्यवाद ज्ञापन र नागरिक अगुवा दुर्गा अधिकारीले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता