जागिर खाए सरकारी, खेती गरी खाए तरकारी

नवलपरासी, ११ फाल्गुन। सात पटक सेनामा भर्ती हुने प्रयास असफल भएपछि २५ वर्षीय ग्यामबहादुर रजालीमगर २५ वर्षको उमेरदेखि तरकारी खेतीमा लागे। सेनामा भर्ती हुने प्रयास असफल भए पनि उनी व्यावसायिक तरकारी खेतीमा भने अब्बल ठहरिए।

भर्ती हुन जाने क्रममै सेनाका एक कर्मचारीले भनेको उखानमा ‘जागिर खाए सरकारी, खेती गरी खाए तरकारी’ भन्ने उखान उनको मनमा निक्कै बिझेछ। त्यसैले उनी व्यावसायिक तरकारी खेतीमा लागे।

करिब १३ वर्षको तरकारी खेतीको यात्रामा उनी धौवादीका लागि मात्र नभएर कावासोती क्षेत्रकै लागि सफल व्यावसायिक किसानका रुपमा स्थापित भएका छन्। रजालील भन्छन्-‘सरकारी जागिर त कस्तो हुन्छ थाहा भएन तर तरकारी खेती गरे राम्रो हुन्छ भन्ने थाहा पाएँ।’

धौवादी-२, सिमलघारीका रजालीले २०५९ सालदेखि तरकारी खेती सुरु गरेका हुन्। उनले सुरुमा चार कठ्ठामा तरकारी खेती गरेको थिए। उनले चार कठ्ठामा तरकारी खेती गरेर पहिलो वर्षमा ७५ हजार जति आम्दानी गरे। ‘पहिलो वर्षको आम्दानीबाट सन्तोष भएपछि तरकारी खेतीमा लागेको हुँ। अहिले डेढ, दुर्इ बिगाहामा तरकारी खेती गरेको छु-उनले भने।

उनले अहिले तरकारी खेतीबाटै वाषिर्क सात-आठ लाख आम्दानी गर्छ्रन्। रजालीमगर भन्छन् – ‘पहिलो वर्षमै तरकारी खेती गरेपछि मेहनत गरे नेपालमै पनि कमाइन्छ भन्ने लाग्यो।’ उनले हावापानी सुहाउँदो क्राँक्रो, सिमी, गोलभेंडा, बन्दा, करेला, बोडी, घेरौला, खुसानीलगायतका तरकारी लगाएका छन्।

पहिलो वर्ष १० हजार खर्च गरेर तरकारी खेती गरेका उनले अहिले वर्षेनि डेढदेखि दुर्इ लाखसम्म खर्च हुने गरेको बताए। आफू एक्लैले नसकेर तरकारी उत्पादन हुने सिजनमा कामदारसमेत उनले लगाउने गरेका छन्। ‘तरकारी खेतीको आम्दानीबाटै पक्की घर बनाएँ, दुर्इ विगाहा खेत पनि किनेँ’-उनले भने।

उनले तरकारी खेतीबाट दुर्इ बिगाहा खेती योग्य जमिन जोडेका छन् भने कावासोती नगरपालिकाको हसौरामा २१ लाखमा घडेरी किनेर पक्की घर बनाएका छन्।

रजालीमगरले भने-‘सुरु-सुरुमा दुर्इ-चार हजार ऋण पनि पत्याउन गाह्रो हुन्थ्यो। कमाउन थालेको देखेपछि गाउँघरमा साह्रो-गाह्रो पर्दा ऋण पत्याउन थालेका छन्।’ तरकारी खेतीबाटै रजालीले दुर्इ छोराको पढाइ खर्चसमेत जुटाएका छन् भने पाँच जनाको परिवार पनि त्यसैबाट चलेको छ। उनका जेठा छोरा अहिले कक्षा १२ र कान्छा छोरा कक्षा ९ मा अध्ययनरत छन्। उनले हाते ट्याक्टर किनेर आफनो खेतमा आफैंले जोत्ने गरेका छन्।

- रामकुमार श्रेष्ठ