वन कार्यालयले मोबाइलबाट सेवा प्रवाह गर्ने

पर्वत, २२ फागुन। जिल्ला वन कार्यालय पर्वतले बिहीबारदेखि मोबाइल सेवा सुरु गरेको छ।

mobile alerts

वनसँग सम्बन्धित सूचना तथा प्राप्त गर्ने सेवा, सुविधाबारे जनतालाई जानकारी दिन तथा सेवा प्रवाहमा सहजताका लागि कार्यालयले मोबाइल सेवा सुरु गरेको हो।

मोबाइल सेवाअन्तर्गत एसएमएसमार्फत् कार्यालयसँग सम्बन्धित सबै योजना र सामुदायिक वनसँग सम्बन्धित सूचना उपभोक्ताको पहुँचसम्म सहज ढंगले पुर्‍याउने उद्देश्य कार्यालयले राखेको छ।

जिल्लाका सबै सामुदायिक वनका अध्यक्ष, स्थानीय सञ्चारकर्मी, इलाका वन कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रमुख, वनसँग सम्बन्धित निकायका पदाधिकारीलगायतका मोबाइलमा एकैसाथ सूचना पुग्ने गरी ३२३४ नम्बरबाट एसएमएस पठाउन सुरु गरिएको हो।

एसएमएस सेवाको पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले शुभारम्भ गरे। सबैको हातमा मोबाइलको पहुँच पुगेकाले यस्तो सेवा प्रकावकारी हुने ठानेर सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी केशव पराजुलीले जानकारी दिए।

कार्यालयले परीक्षणका रुपमा सञ्चालनमा ल्याएको यो सेवा सञ्चालनका लागि १० हजार खर्च भएको छ।

- अादर्श समाज सम्वाददाता