३५ औँ नेपाल यात्रामा टेरिजा

मुस्ताङ, २१ फागुन। विदेशी गाइड टेरिजा हिमालपारिका जिल्ला मुस्ताङ, मनाङलगायत नेपालका कुनाकन्दरामा यात्रा गर्न रुचाउँछिन्।

६१ वर्षीय टेरिजाको साहास, परिश्रम, र जुझारुपन अझै उस्तै छ। उनी अहिले ३५ औँ पटक नेपाल आएको बताउँछिन्। सगरमाथाको देशका हिमाली जिल्ला भ्रमण गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको उनले बताइन्। टेरिजा भन्छिन्-‘सन् १९८४ मा प्रथम पटक नेपाल भ्रमण आएकी थिएँ।’ त्यस भ्रमणबाट नेपालबारे धेरै कुरा थाहा पाएकाले बिजनेस अनलाइन सर्भिसको माध्यमबाट काठमाण्डौको ठमेलमा रहेको साहारा नेपाल नामक ट्राभल एजेन्सीसँग व्यवसायिक सम्बन्ध बनाएकी उनले नेपाल आफ्नै घरजस्तो लागेको बताइन्।

प्रथम पटक मुस्ताङ र मनाङको हिमाल र नेपालको प्राकृतिक सौर्न्दर्य नियालेर आफू पुनः यही ठाउँमा पेशागत दृष्टिले आउने अभिलाषा बढेको र सोही अभिलाषाले आफू यो पेशामा आएको उनले उल्लेख गरिन्।

नेपालका मनोरम हिमशृखङ्ला, हिमाली जिल्लाको भौगोगिक सामिप्यतामा आफूले नेपाल ल्याएका विदेशी पर्यटक पूर्ण सन्तुष्ट रहेकाले बेला-बेलामा अनलाईनमार्फत् गाइडको अफर आउने गरेको उनले उल्लेख गरिन्। उनी विगत सम्झिइन्-‘तेस्रो पटक ११ पर्यटक लिएर नेपाल आउँदा नेपालमा एउटा ठूलो दरबार हत्याकाण्ड घटेको थियो।’ घटनापछि अधिकांशले भ्रमण रद्द गरेकाले दुर्इ जनालाई नेपाल घुमाएको उनले स्मरण गरिन्।

गत बैशाख १२ गतेको महाभूकम्प आउँदा रसुवाको धुन्चेको भ्रमणमा रहेको र भूकम्पले पारेको त्यहाँका पीडादायी दृष्य आफ्नो मानसपटलबाट कहिल्लै नहराउने उनले बताइन्। टेरिजा मुस्ताङको लोमान्थाङ तीन पटक, कागबेनी मुक्तिनाथमा २० पटक र मनाङको सात पटक भ्रंमण गरेकी छन् भने दुर्इ पटक बेशीसहरबाट मनाङ हुँदै मुस्ताङ थोरङलापास यात्रा उनले गरिसकेकी छन्।

३१ वर्षअघि प्रेम विवाह गरेकी टेरिजाका श्रीमान् डेबिड बेरूलडिसन अष्ट्रेलियामा व्यापार गर्छन्।

- अादर्श समाज सम्वाददाता