व्यापार मेला आजदेखि

पोखरा, २० फागुन। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७२ शुक्रबारदेखि सुरु हुँदैछ। लगानी सर्म्वर्द्वनः उद्योग व्यवसायको प्रवर्द्वन भन्ने मूल नाराका साथ पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेला चैत्र एक गतेसम्म चल्ने छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेलाका लागि गठित मूल आयोजक समिति र विभिन्न उपसमितिहरुले मेलाको तयारी पूरा गरेका छन्।

mela

‘मेला पोखराको गौरव हो’-बिहीबारको पत्रकार सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले भने-‘मेला सवैको साझा उत्सव हो, सबै मिलेर सफल बनाउनुपर्छ।’ पोखरामा व्यापार मेला २०६३ सालदेखि निरन्तर हुदै आएको छ।

यसपटकको व्यापार मेलामा क्यान कास्कीको सातौ इन्फोटेक मेला समेत हुँदैछ। इन्फोटेक मेला मेला भित्रको मेला हुने विश्वास लिइएको क्यान कास्की अध्यक्ष चिन्तामणि बास्तोलाले बताए।

मेलामा विभिन्न उत्पादन, व्यावसायिक प्रयोजन, हस्तकला, रेष्टुरेण्ट लगायतका तीन सय छ स्टल रहने छन्। सम्पूर्ण स्टल बुकिङ भइसकेका छन्।औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्वन र बजारीकरणमा सघाउ पुर्‍याउने उदेश्यले मेला आयोजना गर्न लागिएको हो। मेलाको आकर्षणमा उपभोग्य सामानको खरिद-विक्री, लोकदोहोरी, लोकनृत्य, हाँस्य प्रहसन, बाल उद्यान लगायत छन्।

फागुन २२, २५, २८ र ३० गते लोकदोहोरी प्रतियोगितामा उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने एक जनालाई एक सिलिण्डर ग्याँस प्रदान गरिने छ। त्यस्तै हरेक दिन एक जना दर्शकलाई कलसर् मोवाइल सेट उपलव्ध गराइने छ। मेला सम्पन्न गर्न ८३ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मेलाबाट एक करोड ११ लाख आम्दानी हुने अपेक्षा गरिएको छ। मेला तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। प्रत्यक विक्री टिकटको चार रुपैयाँ पोखराको विकास र एक रुपैयाँ बाल श्रम न्यूनिकरण कार्यक्रमका लागि प्रदान गरिने छ।

- अादर्श समाज सम्वाददाता