काङ्ग्रेसको १३ औं महाधिवेशन सुरू

काठमाडौ २० फागुन। नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशन बिहीबारबाट सुरू भएको छ। महाधिवेशनको राजधानीको खुलामञ्चमा भव्य समारोहबीच कार्यवाहक सभापति रामचन्द्र पौडेलले उद्घाटन गरे।

nepali-congress-flag

महाधिवेशनलाई सम्बोधन गर्दै स्वदेशी एवम् विदेशी नेताहरूले नेपालमा प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेसको ठूलो भूमिका रहेको भन्दै उपलब्धीलाई संस्थागत गर्न आग्रह गरे। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको शुभकामना दिँदै इमान, बचनमा अडेको पत्यारिलो काङ्ग्रेस आफूले हेर्न खोजेको बताए। ओलीले भने-‘नेपाली काङ्ग्रेस विश्वासिलो बनोस्, पत्यारिलो र इमान्दारी बनोस् म यही हेर्न चाहन्छु।’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले बेलाबेला नेपाली जनताको भावनामा ठेस पु‍र्‍याउने गरेको बताउँदै यस्तो नदोहो‍र्‍याउन आग्रह गरे। मञ्चमा रहेका भारतको सत्तारूढ भारतीय जनता पार्टीका नेता भगतसिंह कुसियारीलाई सम्बोधन गर्दै उनले प्रश्न गरे-‘नाकाबन्दी व्यहोर्नुपर्ने गरी हामीले के गल्ती ग‍र्‍यौं-’

भारतको बिहार प्रान्तका मुख्यमन्त्री नितिशकुमारले नेपाल र भारतको अटुट नाता कहिल्यै नटुट्ने बताए। काङ्ग्रेसका संस्थापन नेता वीपी कोइरालाको स्मरण गर्दै समाजवादी आन्दोलन र उनीसँगको बलियो सम्बन्धले भारतको स्वतन्त्रता सङ्ग्राममा सहभागी भएको उल्लेख गरे। विपी र चक्र बास्तोलासँगै आफू पनि जेलमा रहेको उल्लेख गर्दै नितिसकुमारले भने-‘नेपाली काङ्ग्रेसका नेताहरूको भारतीय नेता खासगरी विहारका नेताहरूसँग सम्बन्ध थियो।’

भारतीय जनतापार्टीका उपाध्यक्ष भगतसिंह कुसियार, काङ्ग्रेस आइका महासचिव पीकेप्रसाद, बङ्गलादेशका सूचनामन्त्री हरूनल हकइल, सोसिलिष्ट इन्टरनेश्लनका महासचिव लुइस आयल, भारतीय समाजवादी पार्टीका विजय प्रतापलगायतले कुशल नेतृत्व छान्न शुभकामना दिए।

उद्घाटन गर्दै काङ्ग्रेसका कार्यवाहक सभापति पौडेलले काङ्ग्रेसले मुलुक रूपान्तरण गरेको भन्दै अब काङ्ग्रेस रूपान्तरित हुनुपर्ने बताए। आफू रूपान्तरित नभइ काङ्ग्रेसले देशलाई नेतृत्व दिन र परिवर्तन गर्न नसक्ने उनको भनाइ थियो।

राजनीतिमा विकृति बढेका कारण जनता निराश भएको बताउँदै राजनीत्रि्रति जनताको वितृष्णा कम गर्न नेतृत्वले आफूलाई सच्याउनु पर्ने बताए।

वरिष्ठ नेता शेरबहादुर देउवाले काङ्ग्रेसले सबै दललाई समेटेर अघि बढ्ने बताए। काङ्ग्रेस सभापति सुशील कोइरालको नेतृत्वमा जारी संविधान कार्यान्वयन गरेरअघि बढ्नु पर्ने बताउँदै बीपीको सपना अनुसार संविधान सभाबाट हामीले संविधान ल्याएको र अब कार्यन्वयन पनि अर्को ठूलो चुनौति रहेको उनको भनाइ छ।

महाधिवेशनमा आज शुक्रबारबाट बन्दसत्र सुरू हुँदैछ। बन्दसत्रमा काङ्ग्रेसको भावी नीति तथा कार्यक्रममाथि छलफल हुने भएपनि प्राथमिकता भने उम्मेद्वारीले पाउने निश्चित छ। काङ्ग्रेसमा भावी नेतृत्वका लागि तीन जनाले आफ्नो प्यानलसहीत उम्मेद्वारी घोषणा गरेका छन्।

नेतृत्वका लागि ८३ पदमा निर्वाचन हुने छ। संविधान कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम बन्दसत्रमा पेस हुने जनाइएको छ।

तीन हजार एक सय ७० महाधिवेशन प्रतिनिधि सहभागी महाधिवेशनमा दुर्इ सय ४० निर्वाचन क्षेत्रबाट दुर्इ हजार आठ सय ८० सहित १९ देशमा रहेका जनसर्म्पर्क समिति, भातृ तथा शुभेच्छुक संगठनबाट प्रतिनिधि सहभागी छन्।

महाधिवेशनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा उम्मेद्वारी घोषणा गरे। उनको प्यानलमा महामन्त्रीमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव छन्। यस्तै नेतृ सुजाता कोइरालाले पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएकी छन्।

नयाँ नेतृत्वका लागि एक सय ६२ जनाको उम्मेद्वारी परेको छ। कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलका उम्मेद्वारले पनि मनोनयन दर्ता नगराएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता