महिना दिनमा पाँच महिलाको हत्या

पोखरा, २० फागुन।कास्कीमा महिना दिनको बीचमा पाँच महिलाको हत्या भएको छ।

बढ्दै गएको महिला हत्याले शान्ति सुरक्षामा चुनौति थपिएको छ। यरी महिलाहरूको हत्या हुनु र हत्यामा संलग्न पत्ता नलाग्नुले चिन्ताजनक अवस्थाको सिर्जना गरेको छ।

hamila hatya

पाँच महिलामध्ये एक महिला हत्या आरोपी पक्राउ परी अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। तर, अन्य चार महिलाको हत्यामा संलग्न भने अझै प्रक्राउ पर्न सकेका छैनन्।

एक महिनाको बीचमा यो रूना पुन ‘नेहा’, सरस्वती लिम्बु, खिममाया पुनलगायत पाँच जना महिलाको हत्या भएको हो। पोखरा राम बजारकी नेहा हत्यामा संलग्न पोखरा नयाँ बजारका प्रदीप खड्की पक्राउ परी अनुसन्धानका लागि थुनामा छन् भने अन्य चार जनाको हत्या गर्ने अझै समातिएका छ्रैनन्।

‘पछिल्लो समय जसरी महिलाहरूको हत्या भयो, यसले समाजमा असुरक्षताको महशुस गराएको छ’- महिला मानव अधिकार रक्षक सञ्जाल संयोजक सरिता थापाले भनिन्-‘आवश्यक अनुसन्धान गरी दोषीलाई कानुनी कार्वाही तथा पीडितलाई न्यायको अनुभुती दिलाउन ढिलाई गर्नु हुँदैन।’

यसैबीच, महिला हत्या बढ्दै गएको र दोषी नसमातिएकोमा चिन्ता व्यक्त गर्दै महिला मानव अधिकार रक्षक सञ्जाल कास्की तथा अधिकारका क्षेत्रमा क्रियाशील मानव अधिकारकर्मीले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई नौं सुत्रीय ज्ञापनपत्र बुझाएका छन्।

घटनाले महिला तथा बालबालिकाको सुरक्षामा प्रशासन गम्भीर नभएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन्। महिला हत्या र हिंसाका घटना बढेको यस अवस्थामा कतिपय अभियुक्तहरु गिरफ्तार भए पनि प्रभावकारी अनुसन्धान र दोषी कानुनी कारवाहीमा आउन नसक्दा नागरिकमा चिन्ता बढेको ज्ञापनपत्रमा जनाइएको छ।

महिला तथा मानव अधिकारकर्मीहरूले प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन्। प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, अनौपचापरिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार एलायन्स, महिला कानुन व्यवसायी मञ्च, जिल्ला बार एसोसिएसन कास्की, दलित महिला अधिकारकर्मी, तेस्रो लिङ्गी राज थापा, मानव मिलन नारी जागरण केन्द्रलगायत २६ बढी मानव तथा महिला अधिकारकर्मी संस्थाहरूले हस्ताक्षर गरेका छन्।

- अादर्श समाज सम्वाददाता