बच्चामा एचआइभी सङ्क्रमण रोक्न अभियान

लमजुङ, २० फागुन। लमजुङ जिल्लामा एचआइभी सङ्क्रमित आमाबाट जन्मने बच्चामा सङ्क्रमण हुन नदिन रोकथाम गर्न अभियान सुरु गरिएको छ।

hiv

जिल्ला अस्पतालसहित जिल्लामा रहेका २७ वटा बर्थिङ सेन्टर (बच्चा जन्माउने केन्द्र)मा अभियान थालिएको हो। समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआइभी एड्स रोकथाम कार्यक्रमको सेवा चालु आर्थिक वर्षबाट जिल्लाका २७ वटै बर्थिङ सेन्टरमा उपलब्ध हुने जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख सतिश विष्टले बताए।

उनका अनुसार सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सङ्क्रमण हुने सम्भावना २० देखि ४५ प्रतिशत हुने हुँदा यो कार्यक्रमलाई प्रभावकारी बनाउन सके दर घटाउन सकिने सम्भावन रहन्छ।

एचआइभी पीडित बच्चाहरुलाई प्रायः आमाबाट एचआइभी सरेको पाइएको छ। सन् २००५ बाट नेपालमा यो कार्यक्रम भए पनि लमजुङमा यसै वर्षबाट सुरु गरिएको हो। र्ँगर्भवती महिलामा एचआइभी सङ्क्रमण छ भने उनीबाट जन्मिने बच्चामा एच.आई.भी. सर्न सक्छ, सङक्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्ने सम्भावना गर्भावस्थामा पाँचदेखि १०, सुत्केरी हुनेबेला १० देखि १५ र स्तनपान गराउँदा पाँचदेखि २० प्रतिशतसम्म रहने विष्टले बताए। लमजुङमा एचआइभी सङ्क्रमण भएकामध्ये १८ वर्ष मुनिका बालबालिका १६ जना छन् र कुल एआरटी सेवा लिने सख्या ६६ जना छन्।

लमजुङमा केही वर्षयता एचआइभी संक्रमितहरुको संख्या घट्दो क्रममा रहेको एक तथ्याङ्कले देखाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार लमजुङमा एचआइभी सङ्क्रमितको संख्या एक सय ८६ छ ।

- अादर्श समाज सम्वाददाता