सभापतिमा संस्थापनबाटै तीन उम्मेद्वार

काठमाडौँ, १९ फागुन। नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशन काठमाडौँमा आजदेखि सुरु हुँदै छ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान जारी भएपछि सुरु हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्नेछ। २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडौमा नै भएको १२ औँ महाधिवेशनले सभापतिमा सुशील कोइरालालाई निर्वाचित गरेको थियो।

स्थापनाको सात दशक पूरा गर्न लाग्दासम्म अधिकांश समयावधि कोइराला परिवारबाट नेतृत्व हुँदै आएको काङ्ग्रेसले यस अधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेछ।

अहिले महाधिवेशनले कस्को र कस्तो नेतृत्व चयन गर्छ सर्वत्र चासोका रूपमा हेरिएको छ।

महाधिवेशनको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले खुलामञ्चमा भव्य समारोहमा बिहीबार दिउँसो गर्नेछन्। महाधिवेशन उद्घाटन पार्टीसभापतिबाट नै गरिने काङ्ग्रेसको परम्परा छ। महाधिवेशन फागुन २३ गतेसम्म चल्नेछ।

विसं २००६ चैत २७ गते चौथो महाधिवेशनका अवसरमा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस एक भई नेपाली काङ्ग्रेसको जन्म भएको हो। काङ्ग्रेसले इतिहासका कालखण्डमा गरेका प्रजातान्त्रिक सङ्र्घर्ष, यसबाट प्राप्त उपलब्धि र भावी दिशाबोधलाई सम्बोधन गरी उपसभापति रामचन्द्र पौडेलले महाधिवेशनमा प्रस्तुत गर्न नीति तथा कार्यक्रम तयार गरेको बताइएको छ।

काङ्ग्रेस विधानानुसार दुर्इ सय ४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुर्इ हजार आठ सय ८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्। त्यसैगरी, भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसर्म्पर्क समितिका एक सय २६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार एक सय ८८ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनबाट ८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन पदाधिकारीसहित ६४ जनाको निर्वाचन हुनेछ।

यसैबीच, महाधिवेशनबाट काङ्ग्रेसले समृद्धिका लागि सहकार्यको नीति र नेतृत्व बनाउने सहयात्री दलहरूले अपेक्षा गरेका छन्। संविधानको कार्यान्वयन र पुनर्निर्माणमार्फत मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने कुरामा काङ्ग्रेस नेतृत्व पछाडि पर्‍यो भने मुलुक नै पछाडि पर्ने भन्दै ती दलका नेताहरूले काङ्ग्रेसले आगामी दिनमा पनि नेतृत्वदायी र अग्रणी भूमिका खेल्नुपर्ने विचार राखे।

मूलधार मसँग छ : पौडेल

काङ्ग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा र केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। सानेपामा आयोजित घोषणा सभामा हजारौँ कार्यकर्तामाझ दुवै नेताले आ-आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

पौडेलले काङ्ग्रेसलाई नयाँ ऊर्जा दिन र पार्टीलाई शुद्धीकरण गर्न उम्मेदवारी दिएको दावी गरे। समावेशी संविधान काङ्ग्रेसका अग्रजको सपना हो भन्दै त्यसको सफल कार्यान्वयन र आर्थिक समृद्धि अबको प्रमुख एजेन्डा भएको उनको भनाइ थियो।

‘बीपी पुत्र शशाङ्क र गणेशमान पुत्र प्रकाशमान सिंहलगायतको साथ र सहयोगले मलाई ठूलो बल मिलेको छ र काङ्ग्रेसको मूलधार पनि यही हो’-पौडेलले भने। आफूले सबैलाई सँगै लिएर अघि बढ्न भरमग्दुर कोसिस गरेको तर केहीमा विचलन आएको उनले दावी गरे। पौडेल प्यानलबाट महामन्त्रीमा शशाङ्क कोइराला छन् कोषाध्याक्ष अझै टुङ्गो लागेको छैन। प्रभावशाली नेताहरू रामशरण महत, प्रकाशमान सिंहलगायतले पौडेललाई समर्थन गरेका छन्।

पार्टीलाई उर्जाशील बनाउछौँ : सिटौला

वर्तमान  महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले पनि बुधबारै उम्मेदवारी घोषणा गरेको छ।

पत्रकार सम्मेलन गरी सिटौला समूहले उम्मेदवारी घोषणा गरेको हो। सिटौला सभापतिको उम्मेद्वार हुने समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिँदै छन्। कार्यक्रममा तीनवटै पदका उम्मेदवारले पार्टीला रहेको गुटको अन्त्य गर्न र पार्टीलाई ऊर्जाशील बनाउन आफूहरुको उम्मेदवारी भएको दावी गरे।

सभापतिका उम्मेदवार सिटौलाले शान्ति प्रक्रिया र संविधान निर्माणको काम सकिएकाले अब त्यसको कार्यान्वयनको जिम्मेवारी आफूहरूले पूरा गर्ने बताए। उनले पार्टीलाई गतिशील, विचारशील र अग्रगामी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्वको आवश्यकता भएकाले आफू नेतृत्व लिन तम्सिएको स्पष्ट पारे।

महामन्त्रीका उम्मेदवार थापाले आफ्नो नसामा बिपीको रगत नभई विचार बगेको बताए। थापासँगै देउवा प्यानलबाट उनका ससुरा अर्जुननरसिंह केसी महामन्त्रीका लागि मैदानमा छन्।

गुट-उपगुट  अन्त्य गरिनुपर्छ : देउवा

काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभत्र देखिएका गुट-उपगुट अन्त्य गर्न सक्षम नेतृत्वको खाँचो औँल्याएका छन्।

देउवाले पार्टीभत्र देखिएका गुट-उपगुट अन्त्य गर्न पार्टीसभापतिमा आफ्नो उम्मेदवारी रहने स्पष्ट गरे। ‘शोषित, पीडित, दलित, महिला, मधेसी र अन्य उत्पीडित समुदायको सहभागितासहित पार्टीलाई समावेशी बनाइनुपर्छ।’

बुधबारसम्म संस्थापनको उम्मेदवारीको लेखाजोखा गरेका देउवाले बिहीबार आफ्नो प्यानल र्सार्वजनिक गर्दै छन्। उनको प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसीले मङ्गलबारै उम्मद्वारी घोषणा गरिसकेका छन् भने कोषाध्यक्षमा चित्रलेखा यादव मैदानमा उत्रिने तय भएको छ।

पार्टीबचाउन उम्मेद्वारी : सुजाता

नेतृ सुजाता कोइरालाले एक्लै सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन्। कोइरालाले बुधबार आफ्नै निवास मण्डिखाटारमा पत्रकार सम्मेलन गरी काङ्ग्रेसलाई समाप्त पार्न अहिले पार्टीभत्र र बाहिरबाट विभिन्न व्यक्ति र शक्ति क्रियाशील बन्दै गएको र त्यसलाई रोक्न तथा पार्टीबचाउन आफूले उम्मेदवारी दिन लागेको दावी गरिन्।

कोइरालाले भनिन्-‘मुलुकको विकासका लागि महिला र युवा समुदायलाई सशक्तरूपमा राज्यको मूलधारमा ल्याउन मैले सभापतिमा उम्मेदवारी दिन लागेको हो।’ उनले आफूलाई कोइराला परिवारको उत्तराधिकारीको उम्मेदवारको रूपमा नहेर्न र राजनीतिमा विचार र लगनशीलता मुख्य हुनेमा जोड दिइन्। पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेकी कोइरालाले अन्तर्राष्ट्रिय तहमा पार्टीलाई विस्तार एवम् प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मुलुकसँग राम्रो सम्बन्ध बनाउने बताउँदै विशेषगरी दुर्इ छिमेकी मुलुकसँगको सम्बन्धलाई झन् प्रगाढ बनाउने उल्लेख गरिन्।

- अादर्श समाज सम्वाददाता