मनकारीको सहयोगमा अत्याधुनिक विद्यालय

पोखरा, १९ फागुन। सहारा क्लब पोखराको संयोजन तथा सहारा युके र अल्टरसट एफसी युकेको आर्थिक सहयोगमा गोरखाको घैरुङस्थित ज्यामिरश्वाँरामा अत्याधुनिक विद्यालय भवन बन्दै छ।

gorkha

क्लबले गणेश प्राविमा अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधात्मक पाँचकोठे पक्की भवन निर्माण गर्न लागेको हो।

करिब २५ लाख लागतमा भवन निर्माण गर्न लागिएको सहारा युकेका अध्यक्ष दिलीप गुरुङले जानकारी दिए। उनका अनुसार विद्यालयमा आधुनिक किसिमका फर्निचर उपलब्ध गराइनेछ भने विद्यालयभित्रै पार्कसमेत निर्माण गरिनेछ।

मङ्गलबार निर्माणाधीन विद्यालयको निरीक्षण गर्दै अध्यक्ष गुरुङले यसलाई नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताए।

‘भूकम्पपछि विद्यालय निर्माण गर्ने हाम्रो अठोट थियो, तर कहाँ गर्ने भन्ने अलमलमा थियौं, साथीहरूको सहकार्यले वास्तविक पीडित क्षेत्रमा काम गर्न पायौं’-उनले भने-‘आगामी दिनमा पनि आवश्यक सहयोग जुटाउँदै नमुना विद्यालयको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।’

सहारा युकेका अध्यक्ष गुरुङसँगै, सल्लाहकार चन्द्र गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य, कोषाध्यक्ष विश्वराज बराल, सदस्य धर्मेन्द्र बराल, पत्रकार प्रकाश ढकाललगायतको टोलीले निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्दै चाँडै भवनले पूर्णता पाउने बताए।

सहारा क्लब पोखराका अध्यक्ष आचार्यले निर्माणको काम द्रुत गतिमा अगाडि बढेको र निकै राम्रो काम भएको बताए। उनले गुणस्तरीय र अत्याधुनिक विद्यालय निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे। भूकम्पबाट पूर्ण रुपमा क्षत्रि्रस्त विद्यालयको भवन पुनर्निर्माण गर्नुपर्ने भएकाले सहारा क्लबले आफ्ना मातहतमा रहेका संघ संस्थासँग समन्वय गरेर रकम सङ्कलन गरेको हो।

विद्यालय भवन भत्किएपछि यहाँका विद्यार्थी अहिले जस्तापाताको अस्थायी टहरमुनि पढिरहेका छन्। भूकम्पपीडित विद्यार्थीलाई सहज रुपमा पढ्ने वातावरण सिर्जना गर्नका लागि भवन निर्माण गरिएको क्लबले जनाएको छ।

भवन निर्माणको काम करिब ८० प्रतिशत सकिएको निर्माणमा संलग्न प्राविधिक याम थापाले जानकारी दिए। भवन निर्माण भएपछि स्थानीय निकै खुसी भएका छन्। भवन निर्माणमा अपनत्व कायम गर्नका लागि अत्याधिक जनश्रमदान जुटाइएको विद्यालयका प्रधानध्यापक गुनबहादुर थापाले जानकारी दिए।

सहारा क्लबले सहयोगी हातसँग समन्वय गरेर विभिन्न सामाजिक काम गर्दै आएको छ। क्लबले एकेडेमी नै स्थापना गरी कठिन परिस्थितिका बालकलाई आश्रय र शिक्षादीक्षाको व्यवस्था मिलाएको छ।

- अादर्श समाज सम्वाददाता