प्रेमिल ‘फूलैफूलको मौसम तिमीलाई’

fulai fulko mausam timilaiपोखरा, १९ फागुन। आगामी शुक्रबारदेखि नेपाली चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शन हुन लागेको छ।

त्यसैको पूर्वसन्ध्यामा प्रचारप्रसारमा चलचित्रको टोली पोखरा आइपुगेको छ। पोखरा आइपुगेको चलचित्र निर्माण टोलीले मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरी ‘फूलैफूलको मौसम तिमीलाई’ प्रमिल र नेचुरल चलचित्र भएकाले दर्शकले रुचाउने दाबी गरेको छ।

चलचित्रमा नेचुरल पावर भेटिने दाबी गर्दै निर्देशक दिनेश डिसीले भने-‘फूलैफूलको मौसम तिमीलाई’मा दर्शकले नयाँ स्वाद भेट्नेछन्, नेपालीपन झल्किनेछ, जसका कारण दर्शकको रोजाइमा पर्ने पक्का छ।’

जुन कुराले फिल्म हेर्दा दर्शकलाई आनन्द लाग्छ, दर्शकले महसुस गर्ने गरी चलचित्र बनेको निर्देशक डिसीले बताए। चलचित्रको शीर्षकले नै माया, प्रेम दर्शाउने र चलचित्र हेर्दा दर्शकले निकै प्रेमिल महसुस गर्ने उनको भनाइ थियो। गायिक तारादेवीको चर्चित गीतबाट शब्द सापटी लिएर आफूले फिल्मको शीर्षक जुराएको उनले प्रस्टयाए।

यस्तै, उनले प्रचारमा आमेश भण्डारी र नीता ढुङ्गानालाई मात्र अगाडि ल्याइए पनि थुप्रै चर्चित अनुहारले यसमा अभिनय गरेको खुलाए। करिश्मा मानन्धर, नीर शाह, गजित विष्ट, जीवन लुइँटेलको पनि अभिनय रहेको डिसीले बताए।

फागुन २१ बाट नेपालभर रिलिज हुने फिल्मको सबै नाफा धादिङमा तुइनबाट झुण्डिएर स्कुल जाने विद्यार्थीको सजिलोका लागि निर्माण गरिने झोलुङ्गे पुल निर्माणमा सहयोग गरिने उनले जानकारी दिए। द दिनेश डिसी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा डिसीसँगै अमिर अलीको लगानी छ।

- एजेन्सी