साङ्ग्रिलाको २०.८५ प्रतिशत बोनस शेयर पारित

पोखरा, १४ फागुन। साङ्ग्रिला डेभलपमेन्ट बैंकले शुक्रबार ११ औँ वाषिर्क साधारणसभा गरेको छ।

बैंकका अध्यक्ष सुरेन्द्रबहादुर भारीजुको अध्यक्षता भएको साधारणसभाबाट चुक्ता पुँजीको २०.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित भएको छ। ७३ करोड ६० लाख चुक्ता पुँजी भएको बैंकले नेपाल राष्ट्र बैंकबाट खुद मुनाफामध्येबाट पारित भएको चुक्ता पुँजीको २०.८५ प्रतिशत बोनस शेयर बैकको शेयर रजिष्ट्रार एनआइबिल क्यापिटल मार्केन्ट लिमिटेडबाट वितरण गर्ने भएको छ।

हकप्रद शेयर निष्कासन तथा बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी एक अर्ब सात करोड ३४ लाख ५६ हजार हुने प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

साधारणसभाबाट नेपाल राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति तथा निर्देशन अनुरुप विकास बैंकको अधिकृत पुँजी दुर्इ अर्ब ५० करोड रूपैयाँमा बृद्धि गर्ने तथा विकास बैंकको बोनस शेयर तथा हकप्रद शेयर जारी भएपश्चात् हुन आउने जम्मा चुक्ता पुँजीको समूहगत शेयर स्वामित्व संस्थापक शेयरधनीको ५१ प्रतिशत तथा सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने निर्णय भएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

अनुपात परिवर्तन गर्ने तथा यस विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने, प्राप्ति तथा समाहित गर्ने, गराउने वा विदेशी रणनीतिक साझेदार भित्रयाउने वा सोसम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि साधारणसभाले गरेको छ।

- अादर्श समाज सम्वाददाता