नेफ्स्कुनको पोखरामा फिल्ड कार्यालय

पोखरा, १२ फागुन। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ -नेफ्स्कुन) ले पोखरामा फिल्ड कार्यालय स्थापना गरेको छ।

पोखराको सिर्जनाचोकमा कार्यालय बुधबारदेखि सञ्चालनमा आएको हो। नेफ्स्कुनको यो १३ औं फिल्ड कार्यालय हो। बुधबारदेखि नै झापाको दमकमा पनि फिल्ड कार्यालय सञ्चालनमा आएको छ।

पोखरा फिल्ड कार्यालयको संघका अध्यक्ष ऋषिराज घिमिरेले उद्घाटन गरे। संघका अध्यक्ष घिमिरेले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याएको बताए। ‘सहकारी संस्थाहरू अनुशासनमा रहनुपर्छ। आफ्नो दायरा नाघेमा दुर्घटना निम्तिन्छ’-उनले भने-‘सुशासनमा रहेर आर्थिक गतिविधि गर्न आवश्यक छ।’

कार्यक्रममा आफ्ना प्रस्तुति राख्दै संघका सञ्चालक दामोदर अधिकारीले सबै सेयर सदस्यको सहकारीमा समान पहुँच हुन आवश्यक रहेको र सहकारीको व्यवस्थापनमा एकरुपता ल्याउन र वित्तीय जोखिम कम गर्न सहकारीलाई नेफ्स्कुनमा आवद्ध हुन आग्रह गरे।

फिल्ड व्यवस्थापन समितिका संयोजक इन्द्रराजज्योति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक प्रभा कोइराला, सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय पोखराका प्रमुख वद्रिनाथ अधिकारी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, संघका कोषाध्यक्ष नानीबाबु बुढाथोकी र लेखा संयोजक दीपक थापाले पनि बोलेका थिए।

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले स्वागत, लेखा संयोजक दीपक थापाले धन्यवाद र नवराज सापकोटाले सञ्चालन गरेका थिए।

कार्यालयको शुभारम्भसँगै सदस्यता वितरण र कारोबार पनि प्रारम्भ भएको छ। कास्की, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थालाई कार्यालयले वित्तीय कारोबार, तालिम र सहकारीसम्बन्धी अन्य गतिविधिमा सहयोग पुर्‍याउनेछ।

७३ जिल्लामा कारोबार गरेको संघले करिब दुर्इ हजार दुर्इ सय सहकारी संघ, संस्थालाई समेटेको छ। नेफ्स्कुनले हालैमात्र काठमाडौंको नयाँ बानेश्वरमा जग्गा खरिद गरी आफ्नै भवन बनाउने तयारी गरेको छ। संघमार्फत् हाल दुर्इ अर्ब रुपैयाँ बढी कारोबार भइरहेको छ।

यसैबीच, पोखरा फिल्ड कार्यालय उद्घाटनका दिन बुधबारमात्र संघमा २७ नयाँ संस्था आवद्ध भएका छन्। ११ करोड ४० लाख रुपैयाँ बचत सङ्कलन भएको जनाइएको छ।

- अादर्श समाज सम्वाददाता