अग्रज समाजसेवी सुवेदी रहेनन्

पोखरा, १२ फागुन। कास्कीका अग्रज समाजसेवी भोजराज सुवेदीको बुधबार निधन भयो।

८४ वषीय सुवेदी केही वर्षदेखि पाकेनसन रोगबाट पीडित थिए। ग्रामीण क्षेत्रमा विद्यालय तथा सहकारीका अभियन्ता सुवेदीको हंसपुरमा २०६८ सालमा सार्वजनिक अभिनन्दनसमेत भएको थियो। उनलाई २५ भन्दा बढी संघ, संस्था र विद्यालयले अभिनन्दन गरेका थिए।

आगामी चैतमा उनको चौरासीपूजा गर्ने तयारी थियो।

पिता भगिरथ सुवेदी तथा माता पवित्रा सुवेदीको कोखबाट कास्कीको पूर्र्वी क्षेत्र हंसपुरमा १९८९ भदौ २६ गते जन्मिएका सुवेदीको प्राथमिक शिक्षा लमजुङको दूराडाँडास्थित भवेसाहुको पाठशालामा भएको थियो।

उक्त पाठशालामा संस्कृतको पूर्वमध्यमासम्म अध्ययन गरेका उनी लमजुङका नेता स्व. श्रीकान्त अधिकारीका सहपाठी थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनमा दुवै सहयात्री भएका थिए।

भोजराज सुवेदी भद्र अवज्ञा आन्दोलन, २००७ सालको जनक्रान्तिमा सक्रिय सहभागी हुँदै सत्याग्रह र नेपाली काङ्ग्रेसले गरेका सबै आन्दोलनमा सहभागी भएका थिए। उनले प्रजातन्त्र वहालीका लागि तीन महिना भारत प्रवास र दुर्इ वर्ष राजबन्दीका रुपमा जेलजीवन पनि बिताएका थिए।

उनी ब्राह्मणले हलो जोत्ने आन्दोलनमा पनि सहभागी थिए। उनी हंसपुर गाविसको प्रधानपञ्च र जिल्ला पञ्चायत कास्कीको उप-सभापति भएका थिए।

उनी हंसपुरस्थित रामकोट उच्च माविका संस्थापक अध्यक्षलगायत त्यस क्षेत्रका १३ शिक्षण संस्था संस्थापनमा समेत सक्रियतापूर्वक लागेका थिए।

यसैगरी, उनले लेखनाथ-७ को लक्ष्मी आदर्श उमाविको संस्थापक सदस्य, लेखनाथ-११, पचभैयास्थित अमरसिद्ध नमुना उच्चमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, कर्लुङखोला खानेपानी आयोजनाको अध्यक्ष, लेखनाथ-११ का संघ, संस्थामा आवद्ध रही योगदान पुर्‍याएका थिए।

स्व. सुवेदीका दुर्इ पत्नी, तीन छोरा र तीन छोरी छन्। जेठा छोरा शरदराज नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य, माइला छोरा विनोदराज ज्ञानभूमि माविका निवर्तमान प्रधानाध्यापक र कान्छा छोरा मदनराज विनोदी व्यवसायी हुन्।

स्व. सुवेदीको बुधबार साँझ लेखनाथ-१ सतीघाटमा दाहसंस्कार गरियो। शवयात्रामा राजनीतिक, सामाजिक, शैक्षिक संस्थाका प्रतिनिधिका साथै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।

शवयात्राअघि सांसद् यज्ञबहादुर थापा, जीवन परियार र पूर्व सांसद् शुक्रराज शर्माले स्व. सुवेदीको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

- अादर्श समाज सम्वाददाता