सार्क बैठकको तयारी तीव्र

पोखरा, ६ फागुन। दक्षिण एसियाली सहयोग संगठन -सार्क) को पोखरामा हुने मन्त्रीस्तरीय बैठकको तयारी तीव्र पारिएको छ।

चैत एकदेखि चार गतेसम्म हुने बैठकका लागि विभिन्न उपसमिति गठन गरी तयारी सुरू गरिएको हो। बिहीबार बसेको मुल समितिको बैठकले विभिन्न १० उपसमिति गठन गरेको छ। जसमा शान्ति सु-व्यवस्था समितिमा प्रमुख जिल्ला अधिकारी, सरसफाइ, स्वागतद्वार र अत्यावश्यक सेवा व्यवस्थापनतर्फ पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत, ट्राफिक व्यवस्थापनमा प्रहरी प्रमुख, निर्माण तथा पर्वाधारमा स्थानीय विकास अधिकारी, विमानस्थल व्यवस्थापनमा विमानस्थल प्रमुख, सांस्कृतिक तथा स्वागत व्यवस्थापनमा विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष, सम्मेलन कक्षा व्यवस्थापनको जिम्मा क्षेत्रीय प्रशासन कार्यालय र परराष्ट्र मन्त्रालयले लिएका क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत ऋषी आचार्यले जानकारी दिए।

उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले गतसाता पोखरामा प्रशासनिक एवम् सुरक्षा निकायसँग छलफल गरी सम्मेलन पोखरामा नै हुने जानकारी दिएका थिए। त्यसपछि क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाको संयोजकत्वमा मुल समिति गठन भइ तयारी सुरू भएको हो। सम्मेलनलाई यस क्षेत्रका सरोकारवालाले निकै ठूलो उपलब्धीको रूपमा लिएका छन्। सम्मेलनमा सार्क राष्ट्रका परराष्ट्र मन्त्रीसहित परराष्ट्र सचीव, सह सचिवलगायत महत्वपूर्ण व्यक्तिहरूको सहभागिता रहनेछ। सम्मेलन सफल पार्नका लागि सम्मेलन आयोजक समितिका संयोजक तथा क्षेत्रीय प्रशासक कोइरालाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।

- अादर्श समाज सम्वाददाता