इण्डियन गोर्खा ब्रिगेडको विजयी सुरूवात

पोखरा, ६ माघ। दुर्इ विभागीय टोलीबीचको स्पर्धामा भारतको गोर्खा ब्रिगेड टीमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्दा नेपालको एपिएफ पहिलो खेलबाटै बाहिरिएको छ।

एपिएफका पहिलो रोजाइका सात खेलाडी बंगबन्धु गोल्डकप खेलका लागि ढाकामा छन्। उनीहरूको अभाव एपीएफलाई खड्कियो। पोखरामा जारी १४ औं आहा ∕ रारा गोल्डकपमा पाहुना टोली इन्डियन आर्मी गोर्खा ब्रिगेड सशस्त्र प्रहरीको एपीएफलाई २-१ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। बुधबार भएको दोस्रो प्रिक्वार्टर फाइनल खेलमा इन्डियन आर्मी गोर्खा ब्रिगेडका लागि विक्रम राई र अजय तामाङले समान एक गोल गरे। एपिएफका तर्फबाट प्रविण स्याङ्तानले गोल फर्काए पनि जीतका लागि पर्याप्त बनेन।

खेलको ११ औँ मिनेटमा ११ नं. जर्सीलगाएर मैदान उत्रिएका विक्रमले गोल गरेपछि पाहुना टोलीको मनोबल बढ्यो। उनले विपक्षी गोलरक्षक विक्रम गुरूङलाई कुनै मौका नै दिएनन्। निकै प्रतिष्पर्धात्मक खेलमा एपिएफले लगातार मौका चुकायो। पहिलो हाफमा १-० गोलले पछि परेको एपिएफका लागि ५५ औं मिनेटमा प्रविण स्याङ्तानले गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा पुर्‍याए। श्याम नेपालीको क्रसमा उनले बललाई जाली चुमाए।

खेलको ८२ औं मिनेटमा अजय तामाङले गोल गर्दै टोलीको जित सुनिश्चित बनाए। दोस्रो गोलमा पनि विक्रम राईले तामाङलाई सघाए। २३ औं मिनेटमा विक्रम राईको प्रहार एपिएफ रक्षक विक्रम गुरूङले बचाउ गरेका थिए। गोर्खा ब्रिगेडका अजय तामाङ खेलमा म्यान अफ दि म्याच बने।

एपिएफका धेरै अवसर खेर गए। इण्डियन गोर्खाका कप्तानसमेत रहेका गोलरक्षक मणि थापाले एकपछि अर्को प्रहार विफल बनाए। २० औं मिनेटमा एकपछि अर्को प्रहार विपक्षी रक्षकले बचाउ गरे। २१ औं मिनेटमा कप्तान गणेश लावतीको एकल प्रयास असफल बन्यो। २८ औं मिनेटमा विपक्षी गोलरक्षकले फेरि बचाउ गरे। ६८ औं मिनेटमा कप्तान लावतीले पुनः मौकाको सदुपयोग गर्न सकेनन्।

खेलमा चार खेलाडीले पहेलो कार्ड पाए। एपिएफका रमेश दङ्गाल र गोर्खा ब्रिगेडका सागर लिम्बु, सुशान्त मल्ल र अजय तामाङलाई रेप|mी सुदिश पाण्डेले पहेलो कार्ड देखाएका हुन्। गोर्खा ब्रिगेडको यो दोस्रो सहभागिता हो। ११ औं संस्करणको सहभागितामा क्वार्टरफाइनलमा जावलाखेल युथ क्लबसँग २-० गोलले पराजित भएको थियो। छैटौं संस्करणमा उपविजेता बनेको सशस्त्रको भने यो आठौं सहभागिता हो। खेलपछि विजयी टिम गोर्खा ब्रिगेडका प्रशिक्षक नगेन लामाले नेपालका सबै टीम राम्रा भएकाले पूर्ण तयारीका साथ आएकाले पहिलो खेलमा सफल भएको बताए। उनले माघ १० गते हुने मनाङ मस्र्याङ्दी क्लबसँगको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिने उल्लेख गरे।

एपिएफका प्रशिक्षक कृष्ण थापाले पहिलो रोजाइका सात खेलाडीको अभाव खड्किएको बताए। ‘खेलाडी नै छैनन् त के गर्ने, सात जना खेलाडीहरू ढाकामा छन्, यहाँ नभए पनि उता जित्यो खुशी छौं’-उनले भने-‘भारतको टिमलाई हामीले जित्नुपर्ने थियो। गणेशजस्तो अनुभवी खेलाडी गोल गर्न चुकेपछि नै खेल बिग्रियो।’

बंगबन्धु गोल्ड कपमा एपिएफका गोलरक्षक अमृत चौधरीसँगै स्ट्राईकर रञ्जन विष्ट, अञ्जन विष्टका साथ नविन लामा, हेमन गुरूङ, जङ्बो शेर्पा, आदित्य चौधरी खेल्न गएका छन्।

प्रतियोगिताअन्तर्गत विहीबार जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ १६ गते हुनेछ। प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरू, आयोजक र तीन विदेशीसहित १२ टिमको सहभागिता छ। हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक तथा उपविजेताले दुर्इ लाख ५१ हजार एक रूपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्।

- अादर्श समाज सम्वाददाता