सहाराले लियो बदला, नवजनजागृति ३-० ले पराजित

पोखरा, ५ माघ। आयोजक सहारा क्लब पोखरा १४ औँ आहा ∕ रारा गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नवजनजागृति क्लब सिमराविरूद्ध गत संस्करणमा पहिलो खेलमै व्यहोरेको हारको बदला लिँदै सहारा अन्तिम आठमा प्रवेश गरेको हो। पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा सहाराले नवजनजागृतिलाई ३-० गोलले हरायो। गत संस्करणमा सहारा र नवजनजागृतिबीच नै भएको उद्घाटन खेल ३-३ को बराबरीपछि ट्राइब्रेकरमा सहारा ४-३ ले पराजित भएको थियो। एकतर्फी गोल गर्ने क्रममा सहाराले छैटौँ मिनेटमै अग्रता लिएको हो। खेलमा म्यान अफ दि म्याचसमेत बनेका विदेशी खेलाडी एल्भिसले गोलको खाता खोले। उनको एकल प्रयासमा काउण्टर गोल गरेपछि टोलीको मनोबल बढ्यो। विपक्षी गोलरक्षक रवि थापाले रोक्ने कुनै मौका नै पाएनन्। पहिलो हाफमा १-० गोलले अग्रता लिएको सहाराका लागि दोस्रो हाफमा दुर्इ गोल थप्ने क्रममा विदेशी खेलाडी जि मार्टियल र कमल थापाले गोल गरे।

५२ औँ मिनेटमा बुद्ध तामाङको कर्नर प्रहारलाई सदुपयोग गर्दै जि मार्टियलले हेडमार्फत गोल गर्दा जितको आधार थप बलियो बन्यो। कमलले ८३ औँ मिनेटमा वान भर्सेज वानको अवस्थामा सुन्दर तरिकाले तेस्रो गोल गरे। उनी एल्भिसको स्थानमा ६६ औँ मिनेटमा मैदान भित्रिएका थिए।

नवजनजागृतिका कप्तान अवाले राम्रो खेले पनि टीम गोल गर्न भने चुक्यो। २१ औँ मिनेटमा रमेश घिसिङले राम्रो अवसर खेर फाले। विपक्षी रक्षक विनय श्रेष्ठले उनको प्रहार रोके। पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गर्ने मौका गुम्यो। अबाको क्रसमा अजय विक चुक्दा बल आउट भयो। दोस्रो हाफमा ६३ औँ मिनेटमा अबाको प्रहार क्रसबारमा लागेर फकिर्ंदा सहारालाई राहत मिल्यो। ७० औँ मिनेटमा दिनेश कार्कीको फ्रिकिक प्रहारलाई सहारा गोलरक्षक विनयले उतकृष्ट बचाउ गरे। ७२ औँ मिनेटमा दिनेशकै फ्रिकिक अनमार्क रहेका अबाले बललाई पोष्टको दिशा दिए पनि रेप|mी नविन्द्र महर्जनले अफसाइड दिए।

उत्तम गुरूङको कप्तानीमा मैदान उत्रिएको सहाराका तर्फबाट पनि राम्रा अवसर खेर गए। १२ औँ मिनेटमा बुद्ध तामाङ गोल गर्न चुके। ४० औँ मिनेटमा बुद्ध तामाङको क्रसमा शिव श्रेष्ठको प्रहार नवजनजागृतिका गोलरक्षक रवि थापाले उत्कृष्ट बचाउ गरे। ८१ औँ मिनेटमा शिवको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

खेलपछि पोष्ट म्याच कन्फरेन्समा नवजनजागृतिका प्रशिक्षक उमेश श्रेष्ठले खेलाडीहरूले राम्रै खेले पनि पाएका अवसर उपयोग हुन नसकेको बताए। कउनले खेलमा लकले पनि साथ नदिएको उल्लेख गरे। ‘खेलाडीहरूले आराम पनि पाएनन्। उनीहरूलाई पर्याप्त समय भएन’-उनले भने-‘खेलाडीहरू राति मात्रै आइपुगे। हतारमा टिम सेट हुन पनि नपाएको हो।’

यस्तै, आयोजक टिम सहाराका प्रशिक्षक किरण श्रेष्ठले होम ग्राउण्डमा पहिलो गेममा प्रेसर नै हुने बताउँदै खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए। विजेता सहाराले माघ ९ गते अन्तिम चारका लागि युनाइटेड सिक्किम एफसी भारतको सामना गर्नेछ। श्रेष्ठले सो खेलमा टिम सेट मिलिसक्ने भएकाले झनै मेहनतका साथ खेल्ने बताए। १२ औँ संस्करणको विजेता सहारा त्यसअघिको संस्करणमा उपविजेता टिम हो। प्रतियोगिताअन्तर्गत बुधबार शसस्त्र प्रहरीको एपिएफ क्लब र इन्डियन आर्मी गोर्खा ब्रिगेड टिमबीच प्रतिष्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले गरेका थिए। सो अवसरमा सांसद यज्ञबहादुर थापा, हिमश्री फुड्स प्रालिका तर्फबाट युवा उद्यमी प्रकाश केसीलगायतले आहा झ् रारा गोल्डकप पोखराकै गौरव भएकाले यसलाई सफल पार्न पोखरेली लाग्नुपर्ने बताए।

प्रतियोगिता आरम्भको अवसरमा पूर्व फुटबल खेलाडी क्याप्टेन गणेश गुरूङलाई सम्मान पनि गरियो। फुटबल खेलको विकासमा लामो समयदेखि समर्पित बेलायती गोर्खा सेनाका क्याप्टेनसमेत रहेका गुरूङलाई राखेप सदस्यसचिव विष्टले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्। कास्की जिल्ला खिलाङ पार्चे गाविस-३ निवासी गुरूङ विस २०१६ सालदेखि २०३८ सालसम्म फुटबल खेलमा सक्रिय थिए।

हिम श्री फुड्स प्रालिको उत्पादन आहा झ् तथा रारा चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विजेता टिमले पाँच लाख एक हजार एक रूपैयाँ, उपविजेता टीमले दुर्इ लाख ५१ हजार एक रूपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउनेछन्। १२ टिम सहभागी प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरू, आयोजक र तीन विदेशीसहित १२ टिमको सहभागिता छ।

- रञ्जन अधिकारी